डेमोक्रेटिक पार्टीको सम्मेलनमा रिपब्लिकन नेताद्वारा जो बाइडनलाई समर्थन
डेमोक्रेटिक पार्टीको सम्मेलनले जो बाइडनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार बनाएको छ । आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा उनी र पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टर तथा रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले जो बाइडनलाई समर्थन गरेका छन् । बाइडन ह्वाइट हाउस जान तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन्।
मतसर्वेक्षणमा उनले ट्रम्पलाई पछाडि पारेका छन् । डेमोक्रेटिक पार्टीको सम्मेलनको दोस्रो दिन मङ्गलवार राति क्लिन्टनले सम्बोधन गरेका थिए । भिडियोमार्फत् पठाइएको सन्देशमा उनले ट्रम्पको आलोचना गरे ।
क्लिन्टनले ट्रम्पले ओभल अफिसलाई लथालिङ्ग बनाएको टिप्पणी गरे । डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्नेमा आँधीको केन्द्र भएको बताए ।
पूर्वराष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामा र सिनेटर बर्नी स्यान्डर्सले सोमवार सम्बोधन गरेका थिए । मङ्गलवारका वक्ताहरूले मतदाताहरूलाई डेमोक्रेटिक पार्टी कसरी स्वदेश र विदेशमा विद्यमान समस्याहरू समाधान गर्न उपयुक्त छ भनेर विश्वस्त पार्न खोजेका थिए । अमेरिका सेनाका पूर्वप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनमा सैन्य सेवामा हुँदा सिकेको मूल्य र मान्यता भएका बता ।
जर्ज डब्ल्यू बुशको सरकारमा काम गरेका पावलले गत जुन महिनामा ट्रम्पलाई ढँटुवा भन्दै बाइडनलाई समर्थन गरेका थिए । अरू ६ रिपब्लिकन नेताहरूले पनि बाइडनलाई समर्थन गरेका छन् ।
ओहायो राज्यका गभर्नर जोन कासिचले सोमवार डेमोक्र्याटिक उम्मेदवार बाइडनलाई सघाउने घोषणा गरे । बराक ओबामाको सरकारमा विदेशमन्त्री रहेका जोन केरीले पनि सम्मेलनमा सम्बोधन गर्दै ट्रम्पको आलोचना गरे । बाइडनले विश्व बुझेको भन्दै केरीले राष्ट्रहरूलाई एक ठाउँ नल्याई कुनै पनि समस्या समाधान भनाइ राखे ।
ट्रम्पले आफूसँग असन्तुष्ट रिपब्लिकन नेताहरूको ट्विटरमा आलोचना गरेका छन् । उनले बाइडनलाई वामपन्थी अतिवादीहरूको कठपुतली भन्ने गरेका छन् । डेमोक्रेटिक पार्टीको सम्मेलन बिहीवारसम्म चल्नेछ ।
उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस, गत निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार बनेकी हिलरी क्लिन्टर र भूतपूर्व राष्ट्रपति बराक ओबामाले पनि सम्मेलनमा सम्बोधन गर्नेछन् । कोरोनाभाइरसका कारण यो वर्षको सम्मेलन इन्टरनेटको माध्यमबाट भइरहेको छ ।