बेलारुसमा राष्ट्रपतिविरुद्धको प्रदर्शन थप चर्किंदै
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काले आफ्नो मुलुकमाथि बाह्य सैन्य शक्तिबाट खतरा भएको खण्डमा सुरक्षा सहयोग गर्न रुस सहमत भएको बताएका छन् । उनले छिमेकी राष्ट्रहरूमा भइरहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको सैन्य अभ्यासबारे पनि चिन्ता व्यक्त गरेका छन् । अगस्ट महिनाको ९ तारिखमा भएको निर्वाचनलाई लिए राष्ट्रपति लुकाशेन्का विरुद्ध प्रदर्शन भइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो ।
आफ्ना प्रदर्शन पूर्ण रूपमा प्रसारण गर्न माग गर्दै शनिवार सरकारी टेलिभिजन च्यानल अगाडि हजारौँ प्रदर्शनकारीहरू जम्मा भएका थिए । गत हप्ता भएको निर्वाचनमा ठूलो अन्तरका साथ लुकाशेन्काले जित हात पारेसँगै त्यहाँको अवस्था बिग्रिएको हो । उक्त चुनावी नतिजामा धाँधली भएको आक्षेप व्याप्त छ । सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले ८०.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन सम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ ।
प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १०.१२ प्रतिशत मात्रै मत प्राप्त गरेकी छन् । तर उनले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरेकी छन् । प्रदर्शनका क्रम जारी रहेका बेला लुकाशेन्काले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका थिए । उनका अनुसार बेलारुसमा बाह्य सैन्य खतराको अवस्थामा व्यापक सहयोग गर्ने वचन पुटिनले दिएका छन् ।
युरोपेली सङ्घका विदेश मन्त्रीहरूले धाँधलीका लागि जिम्मेवार अधिकारीहरूमाथि थप प्रतिबन्ध लगाउन सहमत भएको भोलिपल्ट पछिल्लो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले पनि निर्वाचन स्वतन्त्र अनि निष्पक्ष नरहेको भन्दै त्यसको निन्दा गरेको छ । कतिपय प्रदर्शनकारीहरूले लुकाशेन्कालाई युरोपका अन्तिम तानाशाह भनिरहेका छन् ।
सन् २०१५ मा भएको पछिल्लो चुनावमा उनले ८३.५ प्रतिशत मतले जितेको घोषणा गरेका थिए । तर मतदाता र मतगणनामा गम्भीर चुनौती दिने कोही पनि पर्यवेक्षकहरू त्यहाँ थिएनन् । अहिले नेतृत्वप्रति बढ्दो निराशाबीच चुनाव भएको छ । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ ।