लेबननको राजधानी बेइरुतमा सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि ठूलो विस्फोटन भएको छ । सो विस्फोटन शहरको बन्दरगाह क्षेत्रमा भएको थियो । समाचारहरूमा दोस्रो विस्फोटन पनि भएको जनाइएको छ । अधिकारीहरूले निकै हताहती भएको हुनसक्ने बताएका छन् ।
अनलाइनमा राखिएका भिडिओमा विशाल धूवाँको मुस्लो र धेरै क्षति भएको देखिन्छ । राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो । ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए । सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ ।
फैसला शुक्रवार हुँदै थियो । दोस्रो विस्फोट झनै ठूलो भएको बताइएको छ । लेबननका स्वास्थ्यमन्त्रीले कैयन् हताहती र धेरै क्षति भएको बताएका छन् । स्थानीय समाचारसंस्थाले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाएका छन् ।
एकजना साक्षीले कानै फुट्ने जस्तो गरि पहिलो विस्फोटन भएको बताए । विस्फोटको कारण प्रस्ट भएको छैन । हालैका दिनमा लेबननमा सरकारले सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयताको सबभन्दा खराब आर्थिक सङ्कटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै सडक प्रदर्शन भएका थिए ।

प्रतिक्रिया