भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ


अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाजी गरेको आरोप अमेरिकाले लगाएको हो ।

चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई सङ्घीय जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ। उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ । एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग अघोषित आबद्धता रहेका मानिसहरूसँग पनि अन्तर्वार्ता गरेको छ । अभियोजनकर्ताहरूले अमेरिकामा सेनाका वैज्ञानिकहरूलाई पठाउने चीनको योजनाअन्तर्गतको यो एउटा हिस्सा भएको बताएका छन् ।

अमेरिकाको न्याय मन्त्रालयका न्यायाधीवक्ता जोन सी डेमर्सले एउटा विज्ञप्तिमा पिपल्स लिबरेसन आर्मीका सदस्यहरूले सेनासँगको “आबद्धता“ लुकाएर अनुसन्धान भिसाका लागि निवेदन दिएका छन् । अमेरिकाले सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा एकजना चिनियाँ वैज्ञानिक रहेको घोषणा गरेपछि ती पक्राउहरू गरिएका हुन् ।

एकदिन अगाडिमात्रै अमेरिकी अधिकारीहरूले चीन बौद्धिक सम्पत्तिको चोरीमा संलग्न रहेको आरोप लगाउँदै टेक्ससमा रहेको चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएका थिए । चिनियाँ नागरिकलाई पक्राउ गर्नुअघि बिहीवार चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको आरोपलाई “दुर्भावनापूर्ण बदनाम“ भनी व्याख्या गरेका थिए । उनले चीनले आफ्नो वैधानिक अधिकारको सुनिश्चितताका लागि आवश्यक प्रतिक्रियाहरू जनाउनुपर्ने पनि बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हालैका महिनाहरूमा चीनसँग कोरोनाभाइरसको विश्वव्यापी महामारी, व्यापार र हङकङको नयाँ सुरक्षा कानुनका विषयलाई लिएर पटकपटक खनिएका छन् । भिसा जालसाजी गरेको आरोप लागेका चारैजनाले पिपल्स लिबरेसन आर्मीमा आफूले सेवा गरेको बारे झुटो बोलेको बताइएको छ। उनीहरूले या त चिनियाँ सेनामा कहिल्यै पनि सेवा नगरेको बताएका छन् वा अहिले नगर्ने बताएका छन् । चारमध्ये एक वाङ सीनलाई जुन ७ तारिखमा लस एन्जलसस्थित विमानस्थलमा पक्राउ गरिएको थियो। उनले आफू पीएलएको सदस्य रहेको र सेनाको विश्वविद्यालयको प्रयोगशालामा काम गर्ने बताएका थिए । न्याय मन्त्रालयका अनुसार भिसा लिँदा भने सीनले सन् २०१६ मै सेना छोडिसकेको बताएका थिए।

टेक्ससको ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई छानबिनको घेरामा राखेको दुई दिनपछि पक्राउका यी घटना सार्वजनिक भएका हुन् । बुधवार प्रशासनले अमेरिकीहरूको निजी सूचना र बौद्धिक सम्पत्तिको रक्षा गर्न भन्दै उक्त वाणिज्य दूतावास ७२ घण्टाभित्र बन्द गर्न चीनलाई निर्देशन दिएको थियो । चीनले त्यस्तो निर्देशनलाई राजनीतिक उक्साहट भनेको छ । अमेरिकामा वासिङ्टनस्थित चीनको दूतावासबाहेक चारवटा वाणिज्य दूतावास रहेका छन्।