अमेरिकी थप सहरमा सङ्घीय सुरक्षा अधिकारी पठाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी प्रदर्शनहरूलाई नियन्त्रण गर्नका लागि कानुन कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख सहरहरूमा पठाउने चेतावनी दिएका छन् । ट्रम्पले सोमवार उदारवादी डेमोक्रेटहरूले न्यूयोर्क र सिकागोजस्ता सहरहरूमा कदम चाल्न डराएको भन्दै आलोचना गरेका थिए । उनले ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ’उत्कृष्ट काम गरेको’ बताएका छन् ।
स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले अवस्था झन् खराब बनाएको बताएका छन् । राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका छन् । ती सुरक्षा अधिकारीले चुनाव हुने वर्ष राजनीतिक तमाशा देखाएर अवस्था थप खराब बनाएको आरोप ती नेताहरूले लगाएका छन् ।
सोमवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कानुन कार्यान्वयन गराउने सुरक्षा अधिकारीहरूलाई पठाउने र सहरहरूमा यस्तो हुन नदिने बताए । उनले खासगरी न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डको नामै लिएर त्यहाँ समस्या भएको बताए ।
उनले पोर्टल्याण्टमा पठाइएका कानुन कार्यान्वयन गराउने सङ्घीय सुरक्षा अधिकारीको प्रयासको पनि प्रशंसा गरे जुन कुरा आफैँमा विवादास्पद बनेको छ । उक्त सहरमा गत मे महिनामा एकजना अश्वेत नागरिक जोर्ज फ्लोइडको प्रहरीको बर्बर्ताका कारण मृत्यु भएदेखि नै प्रदर्शनहरू जारी छ । ट्रम्पले उक्त सहरमा अशान्त रहेका नागरिकमाथि बलप्रयोग गर्न सुरक्षाकर्मीलाई परिचालन गरेका थिए ।
गएको साता उक्त सहरमा प्रदर्शनकारीहरू र सुरक्षा अधिकारीबीच तनाव चुलिएको थियो । स्थानीय नेताहरूले सङ्घीय सुरक्षा अधिकारीलाई सहर छोडेर जान भनेका छन् । ट्रम्पले भने ओरेगनका गभर्नर, पोर्टल्याण्डका मेयर र राज्यका अन्य सुरक्षा अधिकारीहरू ’अराजकतावादी’हरूबाट डराएको बताएका छन्। गत महिना ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश अन्तर्गत सङ्घीय अधिकारीहरूलाई परिचालन गरिएको हो । उक्त आदेश अनुसार अमेरिकी राज्यहरूको अनुमतिबिना नै ती राज्यहरूमा सङ्घीय अधिकारीहरू पठाउन पाइन्छ।