रुसका जासुसहरूले वेलायत, अमेरिका र क्यानडामा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न प्रयास गरिरहेका संस्थाहरूलाई निसानामा राखेको सुरक्षा सेवाहरूले चेतावनी दिएका छन् ।
वेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ’ह्याकरहरूले रुसको खुफिया निकायको अङ्गका रूपमा’ काम गरेको ’लगभग निश्चित’ भएको जनाएको छ । तर कुन संस्था निसानामा परेका हुन् वा कस्तो प्रकारको सूचना चोरिएको छ छैन भन्ने विषयमा स्पष्ट पारिएको छैन ।
ह्याकरहरूले खोपको अनुसन्धानमा भने बाधा नपुर्याएको बताइएको छ । पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस महामारीविरुद्ध काम गरिरहेकाहरूलाई रुसी खुफिया निकायले निसाना बनाउनु पूर्ण रूपमा अस्वीकार्य भएको बताए । रुसले ती आरोपहरूलाई निराधार र असैह्य भन्दै खारेज गरिदिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले ब्रिटेनका औषधि उत्पादन गर्ने कम्पनी र अनुसन्धान केन्द्रहरूमा कसले ह्याक गरेको हुन सक्छ भन्ने विषयमा आफूहरु जानकार नभएको र यी प्रयासहरूमा रुसको कुनै पनि किसिमको सरोकार नभएको बताएका छन् । एकजना विज्ञले भने क्रेमलीनले अस्वीकार गरे पनि रुसी गुप्तचरहरू संलग्न रहेको ’हुन सक्ने’ सम्भावना रहेको बताए ।
काथम हाउस थिङ्क ट्याङ्ककी इमिली टेलर भन्छिन्, ‘प्राप्त विवरणका भरमा साइबर जगतमा कसैलाई आरोप लगाउनु कठिन भए पनि त्यो असम्भव होइन।’ अर्का एक साइबर सुरक्षा विज्ञले भने त्यस्तो अभियानमा रुसीहरूमात्रै संलग्न रहेको हुन सक्ने सम्भावना न्यून रहेको बताएका छन् ।
वेलायत, अमेरिका र क्यानाडाका निकायहरूका अनुसार ह्याकरहरूले सफ्टवेरमा रहेका कमजोरीहरू दुरूपयोग गरेर कमजोर कम्प्युटर प्रणालीमा पहुँच पाएका थिए ।
त्यस्तो पहुँच पाउनका लागि फिसिङ् भनिने सक्कलीझै लाग्ने झुक्याउने इमेलहरू तयार पारेर अनुसन्धानमा संलग्न व्यक्तिहरूसम्म पुर्याइएको थियो । उनीहरूले पठाएका इमेलहरू, प्राप्त गर्नेहरूका विश्वासिला व्यक्तिकै नामबाट गएका थिए । त्यो सक्कली र विश्वासयोग्य लाग्नेगरी उनीहरूका केही व्यक्तिगत जानकारी राखिएका थिए ।

प्रतिक्रिया