विस्फोटनपछि एउटा तारा आकाशगङ्गामा तीव्र वेगमा हुत्तियो


अन्तरिक्षमा भएको शक्तिशाली विस्फोटनपछि एउटा तारा आकाशगङ्गामा तीव्र वेगमा हुत्तिएको खगोलशास्त्रीहरूले पत्ता लगाएका छन् । उक्त तारामा सुपरनोभा भनिने विस्फोटनको प्रक्रिया आंशिक रूपमा भएको उनीहरूको निष्कर्ष छ । सुपरनोभा बनेपछि ताराहरू प्रायः नष्ट हुन्छन्। तर त्यो विस्फोटनले उक्त तारालाई नष्ट पार्न सकेन। बरु नौ लाख किलोमिटर प्रतिघण्टाको वेगमा अन्तरिक्षमा हुत्याइदियो ।

खगोलशास्त्रीहरूका अनुसार उक्त तारा ‘ह्वाईट ड्वार्फ’ थियो र त्यसले एउटा अर्को तारालाई परिक्रमा गथ्र्यो । उक्त अद्भुत खगोलीय घटनापछि दोस्रो तारा पनि विपरीत दिशामा उछिट्टिएको अनुमान गरिएको छ । दुईवटा ताराले एक अर्कालाई परिक्रमा गर्दा तिनलाई “बाईनरी” अर्थात् द्व्यात्मक भनिन्छ। तर अहिले ती दुईमध्ये एउटा ताराको अवस्थिति मात्र खगोलशास्त्रीले पत्ता लगाउन सकेका छन् ।

विस्फोटन भएको उक्त खगोलीय पिण्डलाई वैज्ञानिकहरूले क्म्क्क् व्ज्ञद्दद्धण्ंटठज्ञण् नामकरण गरेका थिए । सन् २०१५ मा पत्ता लागेको उक्त ताराको वायुमण्डलीय संरचना असामान्य थियो । त्यसमा हाईड्रोजन र हीलीअम दुवै ग्यास थिएनन्। बरु अक्सिजन, नीअन, म्याग्नीजम र सिलिकनको अस्वाभाविक मिश्रण थियो ।

हबल स्पेस टेलिस्कोप प्रयोग गरेर वैज्ञानिकहरूले त्यसमा कार्बन र सोडीअम एल्युमिनीअम पनि पत्ता लगाएका थिए । ती सबै तत्व सुपरनोभा बन्ने क्रममा भएको थर्मोन्यूक्लीअर अर्थात् उष्मनाभिकीय प्रतिक्रिया हुँदा बनेका थिए । तर त्यहाँ फलाम, निकल, क्रोमीअम र म्याङ्गनीजजस्ता धातुहरू छँदै छैनन् ।

यसबारे ‘मन्थ्ली नोटिसेज् अफ द रोयल एस्ट्रनमिकल सोसाईअटी’ नामक जर्नलमा प्रकाशित भएको छ । यसको अर्थ के हो भने नाभिकीय ज्वलन निभ्नुअघि उक्त तारा आंशिक सुपरनोभा मात्र बन्न सकेको थियो ।

यसबारे प्रकाशित शोधका मुख्य लेखक तथा यूकेस्थित यूनिभर्सिटी अफ वरिकको भौतिक विज्ञान विभागका प्राध्यापक बोरिस गेन्सिकले भने, ‘यो तारा अभूतपूर्व छ किनभने यसमा ‘ह्वाईट ड्वार्फ’का सबै गुण छन्। तर यसको वेग एकदमै उच्च छ अनि यसमा भएको असामान्य प्रचुरता यसको कम द्रव्यमानसँग हेर्दा अर्थहीन देखिन्छ।’ उनका अनुसार उक्त ताराको रासायनिक संरचना नै ‘न्यूक्लीअर बर्निङ’ अर्थात् नाभिकीय ज्वलनको प्रमाण हो।