अमेरिकाले अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई फर्काउने


अमेरिकाले अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट(आईसीई)ले अमेरिकामा हाल अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थी स्वदेश फर्काउने बताएको हो ।

यो निर्णयसँगै अमेरिकामा अध्ययनरत हजारौं विद्यार्थी, विभिन्न तालिममा सहभागी हुन गएका विदेशी विद्यार्थीहरु प्रभावित हुने भएका छन् । कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएसँगै अधिकांश अमेरिकी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुले अनलाइन कक्षा सुरु गरेका छन् । विश्वकै प्रतिष्ठित हार्वड विश्वविद्यालयले क्याम्पस परिसरमा रहेका विद्यार्थीलाई समेत अनलाइनमार्फत पढाइरहेको छ ।

तर अमेरिकाको पछिल्लो निर्णयले भने यसरी अनलाइनमार्फत पढिरहेका विदेशी विद्यार्थी स्वदेश फर्कन बाध्य हुने भएका छन् । आईसीईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस शैक्षिक सत्रमा भर्ना भएर अनलाइन कोर्स गरिरहेका विद्यार्थीलाई भिसा जारी नगर्ने बताएको छ ।