इरानको परमाणु केन्द्रमा आगो लाग्दा ठूलो क्षति


इरानको एउटा प्रमुख परमाणु केन्द्रमा बिहीवार आगो लाग्दा ठूलो क्षति पुगेको देशको आणविक ऊर्जा हेर्ने निकायका प्रवक्ताले बताएका छन् । उनले नाटान्जस्थित युरेनीयम प्रवद्र्धन गर्ने भवनमा आगो लाग्नुको कारण थाहा भएको बताए पनि त्यसबारे विस्तृत विवरण दिएनन् । उनका अनुसार क्षतिग्रस्त उपकरणहरूको स्थानमा अब अझ उन्नत उपकरण र प्रणाली जडान गरिनेछ ।

एउटा निर्माणाधीन भवनमा भएको युरेनीयम प्रवद्र्धन गर्ने सेन्ट्रिफ्यूज प्रणालीमा आगो लागेको थियो । प्रवद्र्धित युरेनीयम पारमाणविक ऊर्जा तथा अस्त्र बनाउन प्रयोग हुन्छ । केही इरानी अधिकारीहरूले साइबर आक्रमण भएको दाबी गरेका छन् । इरानको एटमिक एनर्जी अर्गनाईजेशनका प्रवक्ता बेहरूज कमाल्भन्दीले सुरक्षाका कारण आगलागीको कारणबारे कुरा नगरिएको बताएका छन् । उनका अनुसार उक्त घटनामा उल्लेख्य क्षति पुगे पनि कोही पनि हताहत भएनन् ।

गत सातामा इरानमा अन्य आगलागी र विस्फोटनका घटनाहरू पनि भएका थिए । राजधानी तेहरानबाट २५० किलोमिटर दक्षिणस्थित नाटान्जमा इरानको सबैभन्दा ठूलो युरेनीयम प्रवद्र्धन केन्द्र छ ।

सन् २०१५ मा भएको परमाणु सहमतिअनुसार इरानले यू २३५ को तीनदेखि चार प्रतिशत मात्रा भएको न्यूनप्रवद्र्धित युरेनीयम मात्र उत्पादन गर्न र केवल आणविक भट्टीका लागि आवश्यक इन्धनका रूपमा प्रयोग गर्न पायो । अस्त्र बनाउन आवश्यक युरेनीअममा यू २३५ को मात्रा ९० प्रतिशत वा बढी हुनुपर्छ।