हावाका साना कणमा पुगेका कोरोनाभाइरसबाट पनि मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोनाभाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन् । उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् ।
ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ । जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने जनाएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने दाबी गरेका छन् । तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन् ।
विश्व स्वास्थ्य सङ्गठनको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताइन् । तर ठोस वा स्पष्ट प्रमाणका आधार भने नभएको उनले बताइन् ।

प्रतिक्रिया