अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग लिने प्रयास गरेको पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा दाबी गरिएको छ । नयाँ किताबमा बोल्टनले अमेरिकी किसानहरूद्वारा उत्पादित कृषि उत्पादन चीनले किनोस् भन्ने ट्रम्पले चाहेको उल्लेख गरेका छन् । पछिल्लो प्रकरणले ती कामहरू समझाउँछ जसका कारण ट्रम्पमाथि महाअभियोग लगाइएको थियो ।
ट्रम्प प्रशासनले उक्त पुस्तकको प्रकाशन रोक्न चाहेको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार पुस्तकमा गोप्य सूचना समावेश गरिएको छ । ’द रुम ह्वेर इट ह्यापन्ड’ नामक पुस्तक जुन २३ तारिखमा सार्वजनिक हुँदैछ । गत जनवरीमा ह्वाइट हाउसले उक्त पुस्तकमा एकदमै गोप्य विवरणहरू रहेको र त्यो हटाइनुपर्ने बताएको थियो ।
तर बोल्टनले त्यसलाई अस्वीकार गरेका थिए । गत जनवरी महिनामा त्यसबेला डेमोक्रेटिक दलका तर्फबाट राष्ट्रपतीय निर्वाचनका सम्भावित प्रतिद्वन्द्वी जो बाइडन र उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान शुरू गर्न युक्रेनलाई दबाव दिएको विवरण सार्वजनिक भएपछि ट्रम्पविरुद्ध महाभियोग लगाउनका लागि प्रक्रिया शुरू गरिएको थियो ।
ट्रम्पले आफू विरुद्धका आरोपहरू अस्वीकार गरेका थिए। रिपब्लिकन दलको पकडमा रहेको सिनेटमा दुई हप्ता लामो अनुसन्धानपछि उनलाई आरोप मुक्त गरिदिएको थियो । ट्रम्प रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका हुन् । उक्त अनुसन्धान युक्रेनमा मात्रै सीमित नभएर राजनीतिक हस्तक्षेपका अन्य उदाहरणहरू पनि हेरिएको भए त्यसको नतिजा फरक हुन सक्ने बोल्टनले बताएका छन् ।
उनले सन् २०१८ को एप्रिल महिनामा ह्वाइट हाउसमा पद सम्हालेका थिए। करिब डेढ वर्षपछि उनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजीनामा दिने निर्णय गरेका थिए । तर ट्रम्पले भने आफू बोल्टनसँग असहमत रहेका कारण उनलाई पदबाट बर्खास्त गरेको गरेको बताएका थिए।
गत वर्ष जापानमा जी २० अर्थात् विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनका बेला ट्रम्प र सीबीच कुराकानी भएको थियो । त्यस बेला चीनका केही अमेरिकी आलोचकहरू नयाँ शीतयुद्धको पक्षमा देखिएको गुनासो गरेको द न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित उक्त पुस्तकको एउटा अंशमा उल्लेख गरिएको छ।

प्रतिक्रिया