कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको उत्तर भारतमा अहिले सलहको प्रकोपसँगै प्रचण्ड गर्मीको प्रभाव पनि देखिएको छ । भारतको राजधानी दिल्लीमा मङ्गलवार तापक्रम बढेर ४७.६ डिग्री सेल्सीअस पुग्यो भने उत्तर भारतका अधिकांश स्थानमा प्रचण्ड गर्मी भएको छ । राजस्थान राज्यको चुरुमा भारतभरि सर्वाधिक ५० डिग्री सेल्सीअस तापक्रम मापन भयो ।
कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको उत्तर भारतमा अहिले सलहको प्रकोप पनि देखिएको छ। सलहले बालीनाली नष्ट पारिदिँदा किसानहरू अर्को चिन्तामा परेका छन् । अधिकारीहरूका अनुसार गर्मीको यो लहर सप्ताहान्तसम्म चल्नेछ । अधिकारीहरूले प्रचण्ड गर्मीबाट जोगिन सर्वसाधारणलाई घरभित्र बस्न आग्रह गरेका छन् ।
भारतमा दशकौँयता पहिलो पटक मे महिनाको अन्तिम साता यति धेरै गर्मी भएको हो । मौसमको विवरण राख्ने वेबसाइट एल डोराडोका अनुसार मङ्गलवार संसारभरि अत्यधिक गर्मी भयो । सरकारी मौसमविद्हरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार गत साता आएको चक्रवात अम्पनका कारण अहिले गर्मी बढेको हो ।
बङ्गालको खाडीमा उत्पन्न उक्त समुद्री आँधीले पूर्वी भारत र बाङ्ग्लादेशमा प्रहार गरेको थियो । भारतको क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवले शक्तिशाली चक्रवात अम्पनले देशका अन्य स्थानबाट पूरै आद्रता सोसेर लगेको बताए । केही वर्षयता गर्मीका कारण भारतमा धेरै मानिसको मृत्यु भएको छ।
तर अहिलेको गर्मीका कारण कति मानिस प्रभावित भए भन्ने तथ्याङ्क उपलब्ध भइसकेको छैन । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला विभिन्न राज्य र सहरबाट लाखौँ मानिसहरू पैदलै आफ्नो घर फर्किरहेका छन् । गर्मीबाट उनीहरू पनि प्रभावित हुने देखिएको छ ।
पहिलापहिला गर्मीका कारण ज्यान गुमाउनेमा खुला आकाशमा काम गर्नुपर्ने श्रमिक र फलफूल व्यापारी पनि हुने गर्थे । यसपालि गर्मीका कारण सलहबाट बालीनाली जोगाउने प्रयास पनि प्रभावित भएको छ ।

प्रतिक्रिया