भारतमा दुई महिनापछि पहिलो पटक हवाई यातायात पुनः सञ्चालन हुँदा सोमवार विमानस्थलहरूमा ठूलो भिड लागेको छ । देशभरि झन्डै एक सय वटा उडान स्थगित भए पनि अरू सबै निर्धारित समयमै उडे ।
कोरोनाभाइरसबाट अतिप्रभावित महाराष्ट्र राज्यले एक दिनमा ५० वटा उडानलाई मात्र अनुमति दिने भनेपछि केही उडानहरू स्थगित भएका हुन् । यात्रीहरूले आफूलाई समयमै सूचना नदिइएको भन्दै आक्रोश व्यक्त गरे । केही यात्रीहरूले सामाजिक सञ्जालमा राष्ट्रिय ध्वजावाहक एअर इन्डियाले आफूलाई सूचना नदिएको र उडान तालिका पनि भद्रगोल भएको भन्दै गुनासो गरेका छन् ।
अरूले विमानस्थल प्रवेश गर्न लामो पङ्क्तिमा घण्टौँ बसेपछि बल्ल आफ्नो विमान नउड्ने थाहा पाएको उल्लेख गरेका छन् । भारतले उडान पुनः सञ्चालन गर्नुअघि रोग रोकथाम गर्ने उपाय अवलम्बन गरेको छ । सुरक्षाकर्मीहरूले सबै यात्रुको ज्वरो नाप्ने र सरकारले बनाएको आरोग्य सेतु नामक कोभिड-१९ ट्रयाकिङ एप आफ्नो फोनमा डाउनलोड गरे नगरेको जाँच्ने गरेका छन् ।
त्यसबाहेक यात्रुका जुत्ता र झोला तथा अन्य सामान पनि निस्सङ्क्रमण गर्ने गरिएको छ । भारतमा एक लाख ३९ हजार जनाभन्दा बढीमा कोभिड १९ पुष्टि भएको छ । तीमध्ये ४ हजार जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । देशमा गत मार्च २५ देखि लकडाउन लागेको भए पनि प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्ने प्रयासमा भारत छ ।

प्रतिक्रिया