नासाले बुधबार मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गर्ने
नासाका अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्लीले यो साता हुने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको यात्राका लागि पूर्वाभ्यास गरेका छन् । नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने ’स्पेस एक्स फ्याल्कन रकेट’ र ’क्रु ड्रयागन क्याप्सुल’ जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्ष कक्ष पुग्दैछन् ।
यो क्यालिफोर्नियास्थित अमेरिकी अन्तरिक्ष कम्पनीबाट अमेरिकी अन्तरिक्ष संस्था नासाले किन्न लागेको नयाँ ’ट्याक्सी’ सेवाको प्रदर्शन हुनेछ । बुधवार स्थानीय समयानुसार बेलुकी ४ः ३३ बजे उक्त प्रक्षेपण हुँदैछ । यद्यपि फ्लोरिडास्थित केनिडी अन्तरिक्ष केन्द्र वरपरको मौसमका कारण त्यसमा केही परिवर्तन हुन सक्छ । शनिवार गरिएको पूर्वानुमानअनुसार प्रक्षेपणका बेलाअनुकूल मौसम हुने सम्भावना ४० प्रतिशत देखिएको थियो । त्यस क्षेत्रमा बाक्लो बादल, वर्षा र चट्याङ पर्न सक्ने प्रबल सम्भावना भएको बताइएको छ । यदि बुधवार अनुकूल परिस्थिति नभएमा शनिवार दोस्रो प्रयास गरिने जनाइएको छ ।
हर्ली र बेन्कन अहिले अन्तरिक्ष यात्राका लागि तयार भएर बसेका छन् । सप्ताहान्तमा भएको ’ड्राई ड्रेस’ पूर्वतयारीमा उनीहरू स्पेससूट लगाएर टेस्ला कारमा बसी केनिडी केन्द्रको प्रसिद्ध प्रक्षेपण परिसर ’३९ए’ सम्म पुगेका थिए । उनीहरूको स्पेस एक्स फ्याल्कन ९ रकेट बिहीवारदेखि त्यहाँ ठडिएको छ । अन्तरिक्षयात्रीहरू त्यसपछि लिफ्टको सहायताले क्याप्सुल अर्थात् उनीहरू बस्न तयार पारिएको ठाउँसम्म पुगेका थिए । त्यस प्रक्रियामा अन्य सबै सम्बद्ध कर्मचारीहरू पनि सहभागी भएका थिए ।
यस अभियानले अहिले धेरैको ध्यान खिचिएको छ । सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री पठाएको छैन । पछिल्ला नौ वर्षमा उसले रुसको ’सोयुज रकेट एन्ड क्याप्सुल’ प्रणाली प्रयोग गर्ने गरेको थियो । नासाले स्पेस एक्स र विमान निर्माता कम्पनी बोइङलाई स्पेस शटल्सको विकल्प बन्ने अवसर दिएको थियो । यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभई अरूको भाडामा लिएर उड्न लागेको हो ।
यो टिकट किनेर यात्रा गरे जस्तै हो । स्पेश एक्स र बोइङ दुवैले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछन् । अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्रगनको नाम पनि यसअघिकै परम्पराअनुरूप दिइएको छ । उक्त नाम बुधवार नै सार्वजनिक गरिनेछ ।