चिनियाँ विदेशमन्त्रीले अमेरिकाले कोरोनाभाइरसबारे ’षड्यन्त्र र झुटहरू’ फैलाइरहेको आरोप लगाएका छन् । पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ’राजनीतिक भाइरस’ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताए ।
विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड १९ को महामारीमा काम गर्दै ’समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउन’ आग्रह गरे । भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच तनाव चुलिएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई भाइरसको प्रकोप लुकाउन खोजेको आरोप लगाएका छन् ।
यो वर्ष हुने निर्वाचनमार्फत् राष्ट्रपतिमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पको भाइरस नियन्त्रण प्रयासलाई लिएर आलोचना भइरहेको छ । तर आइतवार विदेशन्त्री वाङ्ले चीनले विश्वको जनस्वास्थ्य सुरक्षित पार्नका लागि सुरुदेखि नै जिम्मेवार भएर काम गरेको बताए । कोरोनाभाइरस सबैभन्दा पहिले चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा देखा परेको थियो ।
चीनको संसदीय सत्र चलिरहँदा आयोजित पत्रकार सम्मेलनमा वाङ्ले ’अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई बन्धक बनाएको’ बताए । उनले ती शक्तिहरू को हुन् भन्ने चाहिं स्पष्ट पारेनन् ।
राजनीतिक भाइरसको प्रयोग चीनमाथि हमला र उसलाई बदनाम गर्ने अवसरको रूपमा लिइएको उनले बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप प्रत्यारोप भएको छ । चीनमाथि मुद्दा चलाउने विषयलाई वाङ यीले ’दिवास्वप्न’ को संज्ञा दिए ।

प्रतिक्रिया