कोरोना महामारी तत्काल अन्त्य नहुने डब्लुएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारीको गति सुस्त हुने संकेत नदेखिएको जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिएका छन् ।
टेडरोजले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा विशेष चासो व्यक्त गरेका छन् । विश्वभर संक्रमितको संख्या ५० लाख पुग्नै लागेका बेला डब्लुएचओ प्रमुखको चेतावनी आएको हो । दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिका हुन् । विज्ञहरुले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने बताएका छन् ।
धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुन नसकेको अवस्था रहेको स्वास्थ्य विज्ञको भनाई छ । कोरोना भाइरसका कारण हालसम्म विश्वभर तीन लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ। बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई रिपोर्ट भएका केसको संख्या एक लाख ६ हजार भएको, यो एकै दिन थपिएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।’
यस्तै डब्लुएचओको आपतकालीन निर्देशक डा. माइक रायनले कोरोना भाइरस विरुद्धको उपचारमा मलेरियाको औषधि क्लोरोक्वीन र हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगलाई लिएर पनि चेतावनी दिएका छन् ।