अमेरिकी वायुसेनाद्वारा गोप्य अन्तरीक्ष विमान प्रक्षेपण
अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स ३७बी अन्तरिक्ष विमान बोकेको एट्लस भी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमका कारण शनिवार योजना प्रभावित भएपछि भोलिपल्ट उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो । ओर्बिटल टेस्ट भीइकल (ओटीभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भू-उपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ ।
सो विमानको अन्तरिक्षमा यो छैटौँ यात्रा हो । रकेट प्रक्षेपण कोरोनाभाइरस महामारीमा अग्रपङ्क्तिमा काम गर्ने र प्रभावित व्यक्तिहरूका लागि समर्पण गरिएको थियो। रकेटमा ’अमेरिका स्ट्रङ’ (सबल अमेरिका) भन्ने सन्देश पोतिएको थियो । गोप्य राखिएका कारण एक्स(३७बी बारे धेरै जानकारी उपलब्ध छैन ।
अमेरिकी रक्षा मन्त्रालयले पहिले पनि यस विमान र यसको क्षमताबारे थोरै जानकारी सार्वजनिक गरेको छ । “यो एक्स ३७बी मिशनले पहिलेका अभियानभन्दा धेरै परीक्षणहरू गर्नेछ,“ वायुसेनामन्त्री बार्बरा बारेटले केही समयअघि भनेकी थिइन् । तीमध्ये एउटा परीक्षण बीउबिजन र अन्य पदार्थमा पराबैजनी किरणको असर अध्ययन गर्नुरहेको बताइएको छ ।
एक्स ३७बी कार्यक्रम सन् १९९९ मा आरम्भ भएको थियो। यो विमान सन् २०११ देखि प्रयोग बन्द गरिएको मानव बोक्ने अमेरिकी अन्तरिक्षयानको सानो स्वरूपजस्तो देखिन्छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि एक्स ३७बी धावनमार्गमा विमानजस्तै रोकिन सक्छ । बोइङ कम्पनीले बनाएको यो विमान अन्तरिक्षमा रहँदा सौर्य ऊर्जाबाट चल्छ।
यसको लम्बाइ २९ फीट र चौडाइ १५ फीट रहेको छ। यसको तौल ४,९८९ किलोग्राम छ । पहिलो विमान सन् २०१० को एप्रिलमा अन्तरिक्षमा उडेको र आठ महिनापछि फर्केको थियो । यसअघिको अभियान सन् २०१९ को सेप्टेम्बरमा अन्तरिक्षमा ७८० दिन बसेर फर्केपछि सकिएको थियो। यो विमानले अन्तरिक्षमा कुल सात वर्षभन्दा बढी समय बिताएको छ । अहिलेको अभियानको अवधि सार्वजनिक गरिएको छैन।