मोबाइल भिडियोका कारण पाकिस्तानमा दुई युवतीको हत्या


पाकिस्तानमा इन्टरनेटमा व्यापक रूपमा प्रचारित एउटा भिडिओका कारण दुई युवती परिवारबाटै मारिएका छन् । उत्तर र दक्षिण वजीरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती दुईजनालाई गत साता आफ्नै परिवारका एक सदस्यले गोली हानेर मारेको बताइएको छ ।

प्रहरीका अनुसार ती दुई युवतीको एउटा युवकसँगको छोटो भिडिओ सामाजिक सञ्जालमा आएपछि हत्या भएको हो । घटनाको अनुसन्धान गर्न प्रहरीको एउटा टोली सो ठाउँमा पठाइएको बताइएको छ । पाकिस्तानी दैनिक पत्रिका डनले प्रहरीलाई उद्धृत गर्दै बिहीवार दिउँसो खैबर पख्तुनख्वाको शाम प्लेन गर्योम गाउँमा सो घटना भएको बताएको छ ।

डनका अनुसार १६ र १८ वर्षका युवतीको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरि एकान्तस्थलमा लिएको एउटा सेल्फी भिडिओ हो । प्रहरी अधिकृतले सो भिडिओ एक वर्ष अगाडि खिचिएको तर हालैका सातामा भाइरल भएको सो पत्रिकालाई बताएका छन् । अभियाकर्मीहरू पाकिस्तानमा प्रत्येक वर्ष एक हजारभन्दा बढी यस्ता हत्या हुने गरेको बताउँछन्।