अमेरिकाले यो वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसविरुद्ध खोप बनाउने उद्देश्य राखेको घोषणा गर्दै राष्ट्रपति डोनल्ड ट्रम्पले ’खोप भए पनि नभए पनि’ अमेरिका खुला रहने वाचा गरेका छन् । ’अपरेशन वोर्प स्पीड’ नाम दिइएको यो योजनालाई उनले दोस्रो विश्वयुद्धका बेला परमाणुअस्त्र बनाउने प्रयाससँग तुलना गरे ।
तर उनले खोप बनेन भने पनि अमेरिकीहरूले बिस्तारै सामान्य अवस्थामा फर्किनुपर्ने स्पष्ट पारेका छन् । धेरै विशेषज्ञहरूले एकै वर्षमा कोरोनाभाइरसको खोप बन्न सक्ने विषयमा विश्वस्त छैनन् । उनले भने, ‘यो पूर्ण रूपमा खोपमा मात्रै निर्भर छ भन्ने कुरा मानिसहरूले नसोचून् भन्ने म चाहन्छु ।’
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ । विश्वभरि सङ्क्रमितहरूको सङ्ख्या ४५ लाख ४२ हजार भन्दा बढी छ ।
निको हुनेहरूको सङ्ख्या शुक्रवार नै १५ लाखभन्दा बढी थियो । पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन् । अहिलेसम्म १४ लाख ४२ हजार भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८७ हजार नाघेको छ । अमेरिकामा अतिप्रभावित न्यूयोर्क राज्यमा २८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया