जुन एकदेखि विद्यालय खोल्ने तयारीको शिक्षक संगठनद्वारा विरोध
बेलायतको एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने बताएको छ । ओएसिस एकेडेमी ट्रष्ट नामको उक्त संस्थाका संस्थापक स्टीभ चाल्कले स्कूल पुनस् खोल्ने कामको विरोध गर्नेहरू ’मध्यम वर्गका मानिसहरू’ भएको बताए । शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने चेतावनी दिएको छ ।
तर चाल्कले सङ्गठनको सुझाव ’एकतर्फी’ भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू स्कूल आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका छन् । प्राथमिक विद्यालयहरू खोल्नेबारे एक हप्तासम्म चलेको विमर्शपछि ओएसिस एकेडेमी ट्रष्टले जून १ ताारिखदेखि खोल्ने निर्णय लिएको हो ।
शिक्षकहरूको सङ्गठनले भने त्यस दिनदेखि स्कूल खोल्ने काम सुरक्षित र व्यवहारिक नभएको बताएको छ । तर शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ’जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ’त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएका थिए । चाल्कका स्कूलहरूमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा निस्शुल्क खान खान पाउँछन् ।
उनले भने, “हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन्। उनीहरूले सफा हावा पाएका छैनन्, शारीरिक कसरत गर्न पाएका छैनन्। कतिले पोषिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन्।“
उनीहरूका धेरैजसो विद्यार्थीहरूको ’बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’। त्यसैले अनलाइन मात्रै स्कूल चलाउँदा उनीहरू मर्कामा पर्ने चाल्कले बताए । चाल्कले स्कूलले विद्यार्थी या कर्मचारी कसैलाई पनि ’स्कूल आउन बाध्य नपार्ने’ बताए ।
उनले सङ्गठनको धारणाको ’सम्मान गर्ने’ बताए । उनले सुरक्षाका उपायहरू अपनाइने बताए तर ’दीर्घकालीन रूपमा पर्ने सामाजिक मूल्य’को तुलनामा ’अल्पकालीन बिरामी हुने खतरा’ कम हुने बताए।