बेलायतमा लकडाउन केही खुकुलो, मानिसहरू काममा जान सुरु


बेलायतमा लागु लकडाउनका नियमहरू सरकारले केही खुकुलो पार्न सुरु गरेपछि मानिसहरूले घरबाहिर केही बढी समय बिताउने, पार्कमा एकजना मात्र साथी भेट्ने र डेरा सर्ने कामहरू गर्न पाउने भएका छन् ।

बुधवारदेखि लागु हुने नयाँ नियममा बगैँचाको सामान बेच्ने ठूला पसलहरू पनि खुल्नेछन् भने मानिसहरूले आफ्नो एकाघरमा सँगै बस्ने बाहेक बाहिरका एकजना मानिसलाई भेट्न पाउनेछन् ।

एकअर्काबाट टाढा बसेर खेल्न सकिने गोल्फ जस्ता खेलहरू अब खेल्न पाइनेछ । यसैबीच आफ्नो घरमा बसेर काम गर्न नसक्ने अवस्थाका केही कर्मचारीहरूलाई कार्यस्थलमा नै गएर पनि काम गर्नका लागि प्रेरित गरिने भएको छ ।

आइतवार ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले गरेका भाषणपछि यी व्यवस्थाहरू गरिएका हुन् जुन भाषणमा उनले सात हप्तासम्म लकडाउनमा रहेको समाजलाई खुला गर्ने उद्देश्यका साथ केही ससर्त योजना सार्वजनिक गरेका थिए ।

त्यसपछि लकडाउनसम्बन्धी नियमहरू लागु गर्नमा संयुक्त अधिराज्यको सरकार र अधिकार प्रत्यायोजित स्कटल्याण्ड, वेल्स र नोर्दन आएरल्याण्डका सरकारहरूबीच केही भिन्नता देखा परेको छ ।

अधिकार प्रत्यायोजित ती सरकारहरू लकडाउनको कडा नियमहरू र मानिसहरू घरभित्रै रहनु पर्छ भन्ने सन्देशलाई कायमै राख्ने पक्षमा रहेका छन् । इङ्ग्ल्याण्डमा भने कार्यस्थललाई सकेसम्म सुरक्षित राख्न रोजगारदाताहरूलाई निश्चित निर्दे्शिकाहरू जारी गरिएको छ ।

तिनमा एकपटकमा थोरै मान्छेहरू मात्र काम गर्ने कार्य विभाजन र कार्यालयको बारम्बार सरसफाइको व्यवस्था पर्दछन् । सरकारले लागु गरेका नियम नमान्नेहरूलाई सरकारी स्वास्थ्य तथा सुरक्षा निगरानी र नियामक निकायले फौजदारी कारबाही समेत गर्न सक्नेछ।