अफगानिस्तानको राजधानी काबुलमा एउटा अस्पतालमा भएको आक्रमणमा दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा थप १५ जना घाइते भएको जनाइएको छ । अधिकारीहरूले सुरूमा शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको उल्लेख गरेका छन् ।
हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेको जानकारी दिए । हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्रा्ष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ)ले सञ्चालन गर्दै आएको छ । त्यहाँ कतिपय विदेशी पनि कार्यरत रहेका थिए ।
एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ । अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको एक जना अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकासँग दुई महिना भन्दाअघि सैनिक फिर्तीबारे सम्झौता गरेको तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ ।

प्रतिक्रिया