वुहानमा १० दिनमा एक करोड दश लाखको कोरोनाभाइरस परीक्षण हुन सक्ला ?


चीनको वुहान सहरले त्यहाँका सबै एक करोड १० लाख बासिन्दाको कोरोनाभाइरस परीक्षण गर्ने योजनाको खाका तयार पारेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ । वुहानमा सप्ताहान्तमा फेरि छ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि यसरी परीक्षण विस्तार गर्न लागिएको हो ।

कोरोनाभाइरसको सुरुको सङ्क्रमण भेटिएको वुहानमै हो । त्यसपछि उक्त सहर ११ हप्तासम्म कडा लकडाउनको अवस्थामा थियो र गत ८ अप्रिलदेखि बिस्तारै खुला भएको थियो । विद्यालयहरू खुल्ने, व्यापार व्यवसायमा चहलपहल बढ्ने र सार्वजनिक यातायात चल्न थालेपछि सो सहरमा जनजीवन सामान्य हुन थालेको थियो ।

तर एउटै आवासीय परिसरमा नयाँ सामूहिक सङ्क्रमणको अवस्था देखा परेपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ । इन्टरनेटमा व्यापक दस्तावेजलाई उद्धृत गर्दै द पेपर नामक पत्रिकाले जनाए अनुसार वुहान सहरको प्रत्येक क्षेत्रलाई मङ्गलवारसम्म १० दिने परीक्षण योजना तयार पार्न भनिएको थियो ।

तर वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै ग्लोबल टाइम्स समाचारपत्रले जनाए अनुसार त्यसरी सम्पूर्ण सहरलाई नै परीक्षण गर्नु खर्चिलो हुनुका साथै सम्भव नहुने बताएको छ । वुहान विश्वविद्यालयका अर्का निर्देशकका अनुसार वुहानको जनसङ्ख्यामध्ये तीसदेखि पचास लाखको परीक्षण भइसकेको छ र बाँकी साठीदेखि असीलाख जनालाई १० दिनको अवधिमा परीक्षण गर्न ’सम्भव’ देखिन्छ ।

चीनको इन्टरनेटको सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताहरूले केही दिनको समयमा त्यति धेरै मानिसहरूमा कोरोनाभाइरस परीक्षण गर्न सकिएला कि नसकिएला भनेर विभिन्न प्रश्नहरू उठाएका छन् । अर्का टिप्पणीकर्ताले वुहानमा लकडाउन हटाउनुभन्दा अघि नै यस्तो परीक्षण हुनुपर्थ्यो भनेर लेखेका छन् ।

चीनमा सोमवार एकजनामा मात्र नयाँ सङ्क्रमण देखिएको पुष्टि भएको थियो। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजार ९ सय १९ पुगेको छ भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।