इरानले अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्नका लागि तेहरान तयार रहेको बताएको छ । यसका लागि कुनै पूर्वशर्त राखिनु नहुने धारणा तेहरानको छ । यसबारे अमेरिकी धारणा भने आइसकेको छैन ।
“तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान गर्न तयार रहेको धारणा हामीले केही समय पहिले नै सार्वजनिक गरेका थियौँ,” इरानी समाचार संस्था आइएसएनएले सरकारका प्रवक्ता अलि रबीईलाई उद्धृत गरी समाचार लेखेको छ । इरानले कैदीबन्दी आदानप्रदानका लागि अमेरिकी प्रतिक्रियालाई पर्खिरहेको उनले बताए ।
इस्लामिक गणतन्त्रले गत वर्षको डिसेम्बरमा एक अमेरिकी शिक्षाविद् सियु वाङसँग इरानी वैज्ञानिक मसोउद सुलेमानीलाई फिर्ता गरेको थियो । उक्त समय नै इरानले समानरूपमा हुने कैदी आदानप्रदानका लागि इरान तयार रहने बताएको थियो ।
अमेरिकामा जेलमा रहेका आफ्ना नागरिकको स्वास्थ्यबारे इरान चिन्तित रहेको इरानी सरकारका प्रवक्ताले बताए । अमेरिकी जेलमा रहेका इरानी वैज्ञानिकमध्ये एक सिरोअस अस्गारी विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित बनेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।
इरान र अमेरिकाबीच दशकौँदेखि वैमनस्यता कायम रहँदै आएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानसँग विश्वका शक्तिराष्ट्रहरूले गरेको आणविक सम्झौताबाट फिर्ता हुने र इरानमाथि थप प्रतिवन्ध घोषणा गरेपछि सम्बन्धमा थप जटिलता रहँदैआएको छ ।