अमेरिकाले कोरोना भाइरस टास्क फोर्स एक साता भित्रै बन्द गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी रहेको बताएका हुन् ।
एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने बताएका हुन् । अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ ।
यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका छन् । तर विपक्षी दलहरुले भने व्यवसाय खुला गर्न हतारो गरेर राष्ट्रपति ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् । ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ ।