फ्रान्समा डिसेम्बरमै कोरोना संक्रण देखिएको खुलासा
फ्रान्समा निमोनियाका एकजना बिरामी वास्तवमा डिसेम्बर २७ तारिखमै कोरोनाभाइरसबाट सङ्क्रमित रहेको भेटिएको उनका डाक्टरले बताएका छन् । ती पुरुष दुई साताको उपचारपछि पूर्ण रूपमा निको भइसकेका छन् । उनले आफू सङ्क्रमण देखिएको कुनै पनि क्षेत्रमा नगएको उल्लेख गर्दै भाइरसबाट कसरी सङ्क्रमित भए भन्ने केही जानकारी नभएको बताए ।
ती बिरामीको उपचारमा संलग्न डा. इभ कोएनले फ्रान्सेली सञ्चार माध्यमलाई जनाए अनुसार त्यसबेला लिइएको उनको ’स्वाब’को हालै फेरि परीक्षण गरिएको र कोभिड १९ पुष्टि भएको जानकारी दिए । उक्त समाचारले फ्रान्समा पहिले ठानिएको भन्दा करिब एक महिनाअघि नै भाइरस पुगिसकेको औंल्याएको छ । अहिलेसम्म आधिकारीक रूपमा बताइए अनुसार फ्रान्समा पहिलो तीनवटा सङ्क्रमण ज्यानुअरी २४ तारिखमा देखिएको थियो । ती मध्ये दुईजना चीनको वुहान गएका थिए ।
जहाँबाट पहिलो पटक कोरोनाभाइरसको प्रकोप देखा परेको थियो । अर्का एकजना नजिकका पारिवारिक सदस्य हुन् । पेरिस नजिकैको एउटा अस्पतालमा निमोनियाका बिरामीहरूको पुरानो स्वाबको पुनः परीक्षण गरिएको थियो । उनीहरूलाई वास्तवमा कोभिड १९ लागेको थियो कि थिएन भन्ने पत्ता लगाउन अघिल्ला परीक्षणमा फ्लु नेगेटिभ देखिएका ती स्वाबको फेरि जाँच गरिएको डा. इभ कोएनले बताए ।
उनले राष्ट्रिय स्वास्थ्य परिषद्लाई त्यसबारे सतर्क गराएको र अन्य विशेषज्ञहरूलाई आफ्नो अस्पतालहरूमा स्वाबहरूको पुनः परीक्षण गर्न भनेको जानकारी दिए । जाँचको पूर्ण प्रतिवेदन यो साताको अन्त्यमा प्रकाशित गरिने बताए ।
फ्रान्समा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २५ हजार नाघेको छ । अधिकारीहरूका अनुसार एकै दिन तीन सयभन्दा बढीको मृत्य भएको छ। करिब ६० प्रतिशत मानिसको मृत्यु स्याहार केन्द्रमा भएको छ ।
फ्रेन्सको सिनेटले राष्ट्रिय सङ्कटको अवस्थालाई जुलाई २४ सम्म लम्ब्याउने र लकडाउन खुकुलो बनाउने सरकारको तालिकाविरूद्ध साङ्केतिक मतदान गरेको छ । विपक्षी दलले कोरोनाभाइरस सङ्क्रमितसँग सम्पर्कमा आएकाहरूको पहिचान गर्न प्रस्ताव गरिएको स्मार्टफोन एपका कारण गोपनीयता सङ्कटमा पर्ने चिन्ता व्यक्त गरेको छ।