यस्तो छ दक्षिण एसियामा कोरोना संक्रमणको अवस्था
बाङ्ग्लादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका हुन् । कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बाङ्ग्लादेशलाई निर्यातबाट आउने ६ अर्ब डलर बराबरको राजस्वमा ठूलो असर पर्ने बताइएको छ ।
तर कारखानाहरू खोल्ने निर्णयले कोभिड १९ लाई फैलाउने चिन्ता पनि व्यक्त भएका छन् । बाङ्ग्लादेशमा ५ हजार नौ सय भन्दा बढी मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने १५२ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानको कराचीमा भने ५१ जना प्रहरीमा सङ्क्रमण देखिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
सोमवार त्यहाँ सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । पाकिस्तानको पत्रिका डन दैनिकका अनुसार त्यहाँ तीन प्रहरी निरीक्षकमा समेत सङ्क्रमण पुष्टि भएकोमा एकजना निको भइसकेका छन् । सोमवार थप दुईजना प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो । श्रीलङ्काले भारतको केरला र तमिलनाडुमा रहेका सयभन्दा बढी नागरिकलाई उद्धार गरेको छ ।
विशेष विमानमार्फत् तिनीहरूलाइ स्वदेश लगिएको जनाइएको छ । अधिकारीहरूका अनुसार भारतमा एक हजारभन्दा बढी श्रीलङ्काली विद्यार्थीहरू रहेको र उनीहरूलाई चरणबद्ध रूपमा उद्धार गरिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दा धेरैजसो मुख्यमन्त्रीले लकडाउन बढाउनुपर्ने मत राखेका छन् ।
दिल्लीमा आइतवार १९० नयाँ सङ्क्रमण पुष्टि भएको छ भने कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ४६५ पुगेको छ । भारतभरि अहिलेसम्म ९३४ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ।