अमेरिकी ग्रीन कार्ड तत्कालका लागि स्थगित
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । तर यसमा केही छुटको व्यवस्था गरिएको छ ।
ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ । कोरोनाभाइरसका कारण अर्थतन्त्र प्रभावित भएको बेला अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न उक्त कार्यकारी आदेशको उद्देश्य भएको ट्रम्पको दाबी छ ।
तर निर्वाचन हुने वर्ष ट्रम्पले विश्वव्यापी महामारीको निहुँमा अनुदारवादी आप्रवासन नीति ल्याएको भन्दै ट्रम्पको आलोचना पनि भएको छ । यो आदेशबाट ग्रीनकार्डधारी व्यक्तिहरूले आफ्नो परिवारका अन्य सदस्यलाई अमेरिकामा स्थायी बसोबास गर्न आर्थिक दायित्व वहन गर्ने परम्परा रोक्ने अपेक्षा गरिएको छ । ट्रम्पले यो परम्परालाई आप्रवासनको साङ्लो भन्दै गरेका छन् ।
तर अमेरिकी नागरिकका पतिपत्नी वा २१ वर्षमुनिका अविवाहित छोराछोरीलाई भने नयाँ आदेशबाट प्रभाव पर्नेछैन । यो आदेशबाट डाइभर्सिटी भिसा (डीभी) लटरी पनि स्थगित भएको छ। प्रत्येक वर्ष उक्त कार्यक्रमबाट ५० हजार जनालाई ग्रीनकार्ड दिने गरिन्थ्यो । अमेरिकामै बसेर ग्रीन कार्डका लागि आवेदन दिएका हजारौँ विदेशी नागरिकलाई पनि उक्त आदेशबाट कुनै फरक पर्नेछैन ।
स्वास्थ्यसेवामा काम गर्ने उद्देश्यले अमेरिका जान खोजेका चिकित्सक, नर्स र अन्य व्यक्तिलाई पनि छुट छ । कोभिड १९ महामारीका कारण अहिले भिसासम्बन्धी सबै प्रक्रिया बन्द छ । तर यो आदेशका कारण प्रत्येक हप्ता ग्रीनकार्डका लागि पर्ने २०,००० वटा आवेदन रोकिन सक्ने वाशिङ्टनस्थित माइग्रेशन पोलिसी इन्स्टिट्यूटले जनाएको छ ।
अमेरिकन सिभिल लिबर्टीज यूनियनको आप्रवासी अधिकार हेर्ने आयोजनाका निर्देशक ओमर जाड्वटका अनुसार ट्रम्पको नीतिबाट देशभरि रहेका परिवार र तिनका रोजगारदातालाई पीडित हुनेछन् ।