कोरोना सङ्क्रमणको दोस्रो लहर झन् खतरनाक हुनसक्ने अमेरिकी विज्ञको चेतावनी
एकजना वरिष्ठ अमेरिकी विज्ञले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर झनै खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । आगामी जाडो महिनामा साधारण फ्लु को यामसँगसँगै कोरोनाभाइरसको दोस्रो लहरको सङ्क्रमण हुनसक्ने उनले बताए । अमेरिकाका कैयन् राज्यहरूले अर्थतन्त्र पुनः खुला गर्ने तयारी गरिरहँदा सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडिसीका निर्देशक रोबर्ट रेडफिल्डले उक्त चेतावनी दिएका हुन् ।
रेडफिल्डका अनुसार दोस्रो लहरको सङ्क्रमण साधारण फ्लु फैलने मौसममा हुनसक्ने भएकाले त्यसले दोहोरो चाप पार्नसक्छ । स्वासप्रस्वाससम्बन्धी दुई थरी प्रकोप एकसाथ आइपरेमा त्यसले अमेरिकी स्वास्थ्यसेवा प्रणालीमा अकल्पनीय भार पर्ने उनले बताए । उनले आउने महिनाहरूमा त्यस्तो अवस्थासँग जुझ्ने गरि तयारी थालिनुपर्ने बताए ।
साथै हाल लागु गरिएका सामाजिक दूरीका नियम कायम राखिराख्नुपर्ने उनले बताए । मङ्गलवार अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको आँकडामा त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार सात सय मानिसको कोभिड १९ बाट ज्यान गएको उल्लेख छ ।
अमेरिकामा सवा आठ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यहाँ करिब ४५ हजार मानिसको ज्यान गइसकेको छ । विश्वभरिमा २५ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने १ लाख ७७ हजारको ज्यान गइसकेको छ ।