साउदी अरेबियाले किन दियो मृत्युदण्डलाई बढावा ?
साउदी अरेबियाले सन् २०१९ मा १८४ जना जनालाई मृत्युदण्ड दिएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । विश्वभरि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएका बेला उसले भने अघिल्लो वर्षको तुलनामा धेरैलाई मृत्युदण्ड दिएको हो ।
गत वर्ष इराकमा पनि मृत्युदण्ड दिइएको सङ्ख्या दोबर बढेर एक सय पुगेको थियो । दुई सय ५१ जनालाई मृत्युदण्ड दिएको इरान चीनपछि धेरै मृत्युदण्ड दिने देश बनेको छ । यद्यपि, विश्वव्यापी रूपमा भने लगातार चार वर्षदेखि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएको छ । सन् २०१८ को दाँजोमा सन् २०१९ मा पाँच प्रतिशतले घटेर जम्मा ६५७ जनालाई मात्रै मृत्युदण्ड दिइएको थियो । एम्नेस्टी इन्टरनेशनलका अनुसार उक्त सङ्ख्या गएको दशककै सबैभन्दा कम हो ।
मानव अधिकारवादी समूहले चीनको तथ्याङ्क यसमा समेटेको छैन जहाँ हजारौँको सङ्ख्यामा मृत्युदण्ड दिने गरिए पनि राज्यले गुपचुप राख्ने गरेको ठानिन्छ । इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टीले उल्लेख गरेको छ ।
मृत्युदण्डको सजाय एकदमै घृणित र अमानवीय सजाय होस् जेलसजायले भन्दा मृत्युदण्ड दिइँदा मानिसले कम अपराध गर्छन् भन्ने कुनै विश्वसनीय प्रमाण नभएको उसले बताएको छ । सन् २०१९ मा १७८ जना पुरुष र ६ जना महिलालाई मृत्युदण्ड दिएको थियो जसमध्ये आधाभन्दा बढी विदेशी नागरिक थिए ।
साउदी अरेबियामा सन् २०१८ मा १४९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड पाउनेमा धेरैजसो हत्या वा लागुऔषधसम्बन्धी मुद्दाका छन् । तर एमनेस्टीले भने शिया मुस्लिम अल्पसङ्ख्यकका असन्तुष्ट पक्षविरुद्ध राजनीतिक अस्त्रका रूपमा मृत्युदण्डको बढ्दो प्रयोग गर्न थालिएको जनाएको छ ।
सन् २०१९ को अप्रिल महिनामा ३७ जनालाई त्यहाँ एकै पटक मृत्युदण्ड दिइएको थियो । ती सबै शिया समुदायका थिए र पाँचजना दोषीमाथि “आतङ्कवाद” को आरोप लागेको थियो ।