उत्तर कोरियाका नेता बिरामी भएको हल्ला दक्षिण कोरियाद्वारा खण्डन
उत्तर कोरियाका नेता किम जङ-अन मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको विवरण असत्य भएको छिमेकी दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।
“किम गम्भीर बिरामी”, “किमको मस्तिष्कको मृत्यु” वा “किम शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै” जस्ता समाचार पुष्टि गर्न असम्भव नै छ।
तर दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाए अनुसार उत्तर कोरियाका ३६ वर्षीय नेता “गम्भीर बिरामी परेको” कुनै सङ्केत पाइएको छैन।
किमको स्वास्थ्यबारे हल्ला फैलिएपछि अनेकौँ अनुमान गरिएको यो पहिलो पटक हैन। किम गत एप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा सहभागी भएनन्।
राष्ट्राध्यक्ष नै उक्त कार्यक्रममा सहभागी नभएपछि अनेकौँ अनुमान गर्न थालियो। त्यसयता सुरु भएका चर्चा र हल्ला पुष्टि गर्न त्यति सहज छैन।
सरकारी सञ्चारमाध्यमले एप्रिल १२ मा अन्तिम पटक उनको तस्बिर प्रकाशित गरेका थिए। लडाकु विमानको निरीक्षण गरिरहेको बेला खिचिएको उक्त तस्बिर कहिलेको भन्ने चाहिँ स्पष्ट छैन।
तस्बिरमा उनलाई सहज आसनमा देखिन्छ।
सरकारी सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा त्यसको अघिल्लो दिन उनले एउटा महत्त्वपूर्ण राजनीतिक बैठक गरेको देखिन्छ। तर त्यसपछि उनी बाहिर देखा परेका छैनन्।
गत हप्ता गरिएको क्षेप्यास्त्र परीक्षणको समाचारमा उनको उपस्थितिबारे कुनै उल्लेख छैन। प्रायः त्यस्ता परीक्षणमा उनको तस्बिर खिचिएको हुन्थ्यो।
पहिला नै बाह्य संसारबाट अलग्गिएको उत्तर कोरियाले ज्यानुअरीको अन्तिम सातादेखि कोभिड-१९ महामारी रोक्ने उद्देश्यले आफ्ना सबै सीमा बन्द गरेको छ।