दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दर ह्वात्तै घट्यो
दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो । आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ ।
कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड १९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो । त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय पुगेको छ भने २ सय ३४ जनाले कोरोनभाइरसका कारण ज्यान गुमाएका छन् । फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो ।
कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेको थियो । राष्ट्रपति मुन जे इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड १९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए ।
व्यक्तिगत दूरी कायम गर्ने अभियानलाई थप बढाउने कि नबढाउने भन्ने विषयमा अधिकारीहरूले आइतवार सोलमा निर्णय गर्ने अपेक्षा गरिएको छ । यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले अप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ ।
व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ । एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।