किन लुकाइयो चीनको बुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ?
चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सय रहेकोमा हप्तौंपछि त्यो ह्वात्तै बढेर ४ हजार ६ सय पुगेको छ । महामारी सुरु भएको वुहान सहरमा झण्डै ५० प्रतिशतले मृत्यु हुनेको सङ्ख्या बढेको पाइएको हो । अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १ हजार २९० मृत्युका घटना पुष्टि गरिएको हो ।
यसबीचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको तथ्याङ्कमा संशय व्यक्त गरेको पाइएको थियो । नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन् । सरकारी पत्रिका चाइना डेलीले वुहान नगरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताइएको छ ।
वुहानका एक करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए । यसैबीच चीनको अर्थतन्त्र थुप्रै दशकमा पहिलोपटक खस्किएको त्यहाँको पहिलो चौमासिक विवरणले देखाएको छ । सन् १९९२ देखि चौमासिक विवरण राख्न थालेयता कै यो अर्थतन्त्र कमजोर भएको तथ्याङ्क हो । भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यावसाय बन्द भएका छन् ।
महामारीकै कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ६.८ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडिपी) खुम्चिएको शुक्रवार सार्वजनिक सरकारी विवरणले जनाएको छ । भाइरसका कारण चीनभित्रै थुप्रै कारखाना तथा व्यावसाय बन्द भएका छन् ।
बिहीवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेको एक प्रक्षेपणमा चीनले आर्थिक मन्दी छल्ने बताइए पनि यो वर्ष उसको अर्थतन्त्रको वृद्धिदर भने १.२ प्रतिसतमा सीमित हुने बताइएको छ । चिनियाँ अर्थतन्त्रमा आएको ह्रासले उसँग जोडिएका अन्य थुप्रै देशलाई समेत चिन्तित बनाएको छ ।