महामारीका बेला बेजोसको थपियो २४ अर्ब डलर सम्पत्ति
अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले एक खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ ।
अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको बेला बढेको अनलाइन किनमेलबाट फाइदा लिएको छ । माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ । यति हुँदाहुँदै पनि अमेरिकामा कोरोनाभाइरसबाट बच्न यथेष्ट प्रयास नगरेको भन्दै अमेजनको आलोचना भएको छ ।
अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ र मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको छ । लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन् । वालमार्टका मालिक परिवारको यो वर्ष सम्पत्ति ५ प्रतिशत बढेको छ र सो परिवार विश्वको सबैभन्दा धनी परिवार बनेको छ ।
लाखौँ मानिसहरूले घरबाट काम गर्न जुम प्रयोग गरेपछि यसका संस्थापक इरिक युआनको सम्पत्ति दोबर भएर सात अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । बेजोसले एक लाख डलर लगानी गरेर सन् १९९५ मा अमेजन शुरू गरेका थिए। उनले अमेजन शुरु गर्न ३० वर्षको उमेरमा जागिर छोडेका थिए ।
उनकी पत्नी न्यूयोर्कमा डीई सह नामक संस्थामा सहकर्मी थिइन् र उनले पनि त्यो जागिर अमेजनका लागि छोडेकी थिइन् । चार बच्चा जन्माएका उनीहरू सन् २०१९ मा छुट्टिए । पत्नीलाई बेजोसले ३८ अर्ब डलर सम्पत्ति र अमेजनमा ४ प्रतिशत शेयर दिएका थिए । सन् १९९७ मा शेयर बजारमा जाँदा अमेजनले ५ करोड ४० लाख डलर उठाएको थियो र बेजोस ३५ वर्ष पुग्नु अगाडि नै विश्वका धनीमध्ये एक बनेका थिए । बीबीसीबाट