भारतमा कोरोना संक्रमणबाट महाराष्ट्र बढी प्रभावित
भारतमा कोरोना संक्रमितको संख्या बढेको छ । हालसम्म भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ८ सय ६५ पुगेको छ । त्यहाँ कोरोना भाइरसका कारण १६९ जनाको ज्यान गइसकेको छ भने ४७८ जना निको भइसकेका छन् । सबैभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा देखिएका छन् जहाँ ११ सयभन्दा धेरै सङ्क्रमित भइसकेका छन् ।
त्यसपछि तमिलनाडुमा ७ सयभन्दा धेरै र दिल्लीमा करिब साढे ६ सय सङ्क्रमित छन् । नेपालसँग सिमाना जोडिएका बिहारमा ३९ जना, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । भारतभरि मार्च २४ देखि ’लकडाउन’ वा आवतजावतमा बन्देज लगाइएको छ । तर यसबीच केही ठाउँमा सङ्क्रमण तीव्र विस्तार भएपछि ती ठाउँलाई स्थानीय रूपमा ’सील’ गरिएको छ । खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ’हटस्पट’ भनिएका त्यस्ता धेरै सङ्क्रमित भएको स्थानहरूलाई आवतजावतमा पूर्णतयाः बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर ’सील’ गरिएका छन् ।
दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी ’सील’ गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् । नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ’हटस्पट’लाई पूर्ण रूपमा ’सील’ गरिने निर्णय भएको छ । त्यसरी ’सील’ गरेर ती ठाउँमा फैलिएका सङ्क्रमणलाई अन्यत्र विस्तार हुन नदिइने बताइएको छ ।
कोरोनाभाइरस सङ्क्रमणका कारण आर्थिक गतिविधिमा लगाइएका बन्देजका कारण विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन् । यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ । विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालतपनि चिन्ताजनक बनेको छ ।
त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति निमिट्यान्न हुनसक्ने चेतावनी दिएका छन् । अर्थात् करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्छन्। गरिब किसान तथा मजदुरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुन या त कम तलब थाप्न बाध्य हुनेछन् ।