कोरोनासँग जुध्न भारतमा पेन्सन र तलबसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन, सांसदको तलब, भत्तामा ३० प्रतिशत कटौती
भारतमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण त्यहाँको सरकारले पेन्सन र तलबसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गर्ने घोषणा गरेको छ । यसबाट प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती हुने बताइएको छ । मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको जानकारी दिए ।
बैठकले दुईवटा महत्वपूर्ण निर्णय लिएको भन्दै उनले भने, “पहिलो निर्णय नेताहरूको तलब र पेन्सनसँग जोडिएको ’संसद् सदस्य (तलब, भत्ता र पेन्सन) सँग जोडिएको अधिनियम १९५४’ मा परिमार्जन गरिनेछ । त्यसबाट कोरोनाको महामारीसँग जुझ्न प्रधानमन्त्रीसँगै सबै सांसदहरूको तलब ३० प्रतिशतले कटौती हुनेछ।“
जावडेकरका अनुसार कटौती अप्रिल १, २०२० देखि लागु हुनेछ र आर्थिक वर्ष २०२०/२१ सम्म लागु रहनेछ । तलबबाहेक सांसदहरूको भत्ता पनि कटौती गरिनेछ ।
मन्त्री जावडेकरले राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरहरूले पनि स्वेच्छाले आफ्नो तलबको ३० प्रतिशत कटौती गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सांसदहरूलाई क्षेत्रीय विकासका लागि दिने गरिएको सांसद विकास कोष पनि आगामी दुई वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।
सन् २०२०/२१ र २०२१/२२ सम्म भारतको उक्त सांसद स्थानीय क्षेत्र विकास कोष कार्यक्रम रोकिने उनले जानकारी दिए । सबै सङ्घर्ष कोरोनाभाइरस महामाीविरुद्ध केन्द्रित गर्न यस्तो निर्णय लिइएको भारत सरकारले जनाएको छ । विपक्षी भारतीय कांग्रेस पार्टीले पनि तलब कटौतीसम्बन्धी निर्णयको समर्थन गरेको छ तर स्थानीय क्षेत्र विकास कार्यक्रम निलम्बन गरिएकोमा विरोध जनाएको छ ।
कांग्रेसका वरिष्ठ नेता अहमद पटेलले आफूले सांसदहरूको तलब कटौतीको स्वागत गरेपनि सरकारले चाहे हजारौँ करोड रुपियाँ खर्चबाटै जोगाउन सक्ने बताए । कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल ट्विटरमा सम्बोधन गर्दै तलब कटौतीप्रति समर्थन रहेको जनाएका छन् ।
तर उनले आफ्नो क्षेत्रमा काम गर्न सांसदहरूलाई सहयोग गर्दै आएको सांसद कोष निलम्बनलाई समर्थन गर्न नसक्ने बताए । यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्ध देशको राष्ट्रिय हेल्थ मिशन र राज्यस्तरका विपद् राहत कोषमा रहेका रकम परिचालन गर्न सकिने जनाएको छ ।
भारतमा मङ्गलबार बिहानसम्म ३ हजार ९ सय ८१ वटा कोभिड-१९ का सक्रिय सङ्क्रमणहरू रहेका अधिकारीहरूले जनाएका छन् । त्यहाँ हालसम्म ४ हजार ४ सय २१ वटा कोरोनाभाइरसको सङ्क्रमणका घटना देखिएका छन् जसमा ११४ जनाको मृत्यु भएको छ भने ३२६ जना उपचारपछि घर फर्किएका छन् ।