दक्षिण कोरियामा ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त
दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।
ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।
उनी कोभिड-१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।
जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्। बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।