जापानमा १९ जनाको हत्याका अभियुक्तलाई मृत्युदण्डको फैसला
जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।
तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुले मानसिक रोगका कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए ।
उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोशी आउनुमाले प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको बताए ।
सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनु पर्ने माग दाबी गरेका थिए । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ । अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए । उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो ।