डोनल्ड ट्रम्पलाई सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकको भनाइ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोनाभाइरस सङ्क्रमण नभएको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । ट्रम्पको कोरोनाभाइरस परीक्षण नकारात्मक रहेको पुष्टि भएको शन कन्लीले आइतवार वक्तव्य जारी गरी उल्लेख गरेका छन् । फ्लोरिडास्थित आफ्नो रिजोर्ट ब्रजिलबाट आएको एउटा प्रतिनिधिमण्डलसँग भेटघाट गरेपछि ट्रम्पले कोभिड १९ को परीक्षण गराएका थिए ।
उक्त भेटमा सहभागी केही प्रतिनिधिलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएको थियो । ब्रजिलका राष्ट्रपतिका एक सहयोगी फाबियो वाइनगटन पनि उक्त भेटघाटमा सहभागी थिए । उनलाई सङ्क्रमण भएको पुष्टि भएको छ ।
ट्रम्पले उक्त भेटपछि पनि आफूमा कुनै पनि लक्षण नदेखिएको भन्दै अलग्ग नबसी नियमित काम गरिरहेका थिए । तर ह्वाइट हाउसमा आयोजित एउटा पत्रकार सम्मेलनमा ट्रम्पले सङ्क्रमण परीक्षण गराए कि गराएनन् भनेर सोधिएपछि उनले परीक्षण गराउने बताएका थिए ।