उत्तर कोरियामा रहेका धेरै विदेशी दूतावास बन्द


कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन्।

उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ। उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ।

उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन्। फेब्रुअरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन।

कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको थियो।

रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति “बाध्यकारी” भएको टिप्पणी गरेका छन्। उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्।

उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ। उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्।

राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ। उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन्।

उत्तर कोरिया सरकारले झन्डै ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारन्टीनमा बस्न लगाएको थियो। तीमध्ये अधिकांश प्योङ्‌याङस्थित विदेशी नियोगमा कार्यरत कूटनीतिज्ञ र कर्मचारी थिए।