दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २९ जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार राति भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए ।
उद्धारकर्मीहरूले अहिले पनि भग्नावशेषमा खोजी गरिरहेका छन् । आपत्कालीन व्यवस्थापन हेर्ने मन्त्रालयका अनुसार ३८ जनाको उद्धार गरिएको छ । यसअघि फसेकामध्ये ४७ जनालाई बाहिर निकालिएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो । उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ ।

प्रतिक्रिया