कोरोना सङ्क्रमण फैलिएको बेला पनि चिनियाँ पर्यटकका लागि थाईल्याण्डमा स्वागत



थाईल्यान्डमा वर्षभरि नै पर्यटकहरूको चहलपहल हुन्छ। अझ नोभेम्बरको अन्त्यदेखि एप्रिलको आरम्भसम्मको समय पर्यटनका लागि विशेष मानिन्छ। त्यो अवधिमा पर्यटकहरू सुक्खा मौसम र ठिक्कको तापक्रमबाट आकर्षित भई थाईल्यान्डका धार्मिक स्थल, समुद्री तट तथा रिजोर्टतिर घुम्न जान्छन्।

तर हिजोआज थाईल्यान्डका प्रमुख गन्तव्य स्थलहरूको कथा फरक छ। चर्चित र कुनै बेला निकै व्यस्त रहने गरेका ठाउँहरू शान्त र निर्जीव देखिन्छन्।

ब्याङ्कक, पताया, फुकेट र चियाङ माई सहरमा कुनै बेला अभिन्न मानिने चिनियाँ पर्यटकहरू हिजोआज देखिँदैनन्। पछिल्लो समय थाईल्यान्डको पर्यटन उद्योग मात्रै नभई त्यहाँको जनस्वास्थ्य पनि नराम्ररी प्रभावित भएको छ।

चिनियाँ मुख्य भूभागबाहिर कोभिड-१९ अर्थात्‌ नयाँ कोरोनाभाइरसको सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकको सूचीमा थाईल्यान्ड पाँचौँ स्थानमा छ।

यो रिपोर्ट तयार पार्ने बेलासम्म त्यहाँ ३५ जना व्यक्तिमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। गत वर्ष तीन करोड ९७ लाख पर्यटकले थाईल्यान्डको भ्रमण गरेका थिए जसमध्ये चिनियाँ पर्यटकको सङ्ख्या २७ प्रतिशत थियो।

अहिले फूल बेच्ने मानिसहरूदेखि पर्यटक पथप्रदर्शक, सडकछेउमा व्यापार गर्ने मानिसहरू र होटल सञ्चालकसम्म सबैले आआफ्नो व्यापार घटेको गुनासो गरिरहेका छन्।

तर नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन चीन सरकारले कडा कदम चालेका कारण लाखौँ चिनियाँहरू विदेश भ्रमणमा जानबाट रोकिएका छन्।

चिनियाँ पर्यटकमाथि एकदमै भर पर्ने थाईल्यान्डको पर्यटन उद्योगलाई अहिले ठूलो झट्का लागेको छ। फिच सलूशन्सका अनुसार थाईल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको मात्रै १३ देखि १४ प्रतिशतसम्म योगदान छ।

केही वर्षयता युरोपेली पर्यटकहरूको सङ्ख्या घटिरहँदा थाईल्यान्ड घुम्ने चिनियाँ पर्यटकको सङ्ख्यामा चाहिँ उल्लेख्य वृद्धि भइरहेको छ।

यसै कारणले होला अरू छिमेकी देशहरूले चिनियाँ पर्यटकमाथि प्रतिबन्ध लगाइरहँदा थाईल्यान्ड ठिक त्यसको उल्टो दिशामा गएको छ।

सरकारी निकाय तथा स्थानीय व्यापारिक क्षेत्रहरूले चिनियाँ पर्यटकहरूका लागि आफूहरूका ढोका खुलै रहेको सन्देश पठाइरहेका छन्।

नयाँ कोरोनाभाइरसको प्रकोप देखिएपछि थाईल्यान्डको पर्यटन प्राधिकरण र ब्याङ्कक महानगरीय प्रशासनजस्ता सरकारी निकायले चिनियाँ नागरिकहरूप्रति नैतिक समर्थन रहेको भन्दै भिडिओ बनाएका छन्।

थाईल्यान्डकै सबैभन्दा ठूलो ड्यूटी-फ्री विक्रेता तथा लेस्टर सिटी फुटबल क्लबको मालिक किङ पावरले चिनियाँ नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नै भिडिओ बनाएको छ।

त्यो भिडिओमा लेस्टर सिटीका खेलाडीसहित पर्यटन व्यावसायीहरूले चिनियाँ भाषाका शब्दावलीहरूसहित चीनको झण्डा फहराउँदै गरेको देखिन्छ। त्यसको सन्देश चाहिँ एउटा राम्रो व्यवहार दर्शाउनु अथवा ऐक्यबद्धता जनाउनुभन्दा पनि बढी रहेको छ।

थाईल्यान्ड चिनियाँ पर्यटनमाथि निकै नै निर्भर छ र नयाँ कोरोनाभाइरसको सङ्क्रमण तत्काल नियन्त्रणमा नआए उसको अर्थतन्त्र नराम्ररी प्रभावित हुन सक्छ।

असोसीएशन अफ थाई ट्राभल एजन्ट्सका अनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण सन् २०२० को पहिलो त्रैमासिकमा थाईल्यान्डलाई १.६ अर्ब डलर बराबरको घाटा हुन सक्छ। अझ सिङ्गो वर्षमा ९.६ अर्ब डलर बराबरको घाटा हुन सक्ने प्रक्षेपण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ