चीनमा कोरोनाको संक्रमण घट्दै
गत डिसेम्वर अन्तिम साताबाट देखिएको र सुरुमा बढ्दो रुपमा देखिएको कोरोना भाईरसको संक्रमण पछिल्ला दिनमा कमजोर हुदै गएको र चीनमा सङ्क्रमण घट्दो दरमा देखिएको छ । संक्रमण विरुद्ध अपनाईएको कडा कदमका कारण चिनियाँ अधिकारीहरूले कोभिड १९ फैलिएको हुबे प्रान्तमा नयाँ सङ्क्रमणको सङ्ख्या ह्वात्तै घटिरहेको विवरण दिएका छन्।यो साताको बुधवार केवल ३४९ नयाँ सङ्क्रमण भेटिएको जनाइएको छ, जब कीमङ्गलवार त्यस्तो नयाँ सङ्क्रमणको सङ्ख्या १,७०० बताइएको थियो।
संक्रमितको सङ्ख्यामा आएको उक्त कमी रोग निदानमा अपनाइएका फरक विधिका परिणाम मानिएको छ । चीनले हर सम्भव उपाय लगाएर चीनले रोग नियन्त्रणका लागि आक्रामक अभियानहरु संचालन गरिरहेको छ । यसैकारण पछिल्ला दिनमा रोग संक्रमितहरुको संख्या ह्वात्तै घट्दै गएको हो । बुधवार सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०८ बताइएको छ। अधिकांश मृत्यु हुबेको राजधानी वुहानमा भएको छ।
चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड १९ सङ्क्रमणका विवरणहरू समेटिएका छन्।चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको छ ।
उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गरेपनि त्यो नियन्त्रणमा रहेको जनाएको छ । गतमङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकएक्काउन्न वर्षीय लियो झामिङको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरुको सुरक्षामा पनि चिन सरकारले उच्च प्राथमिकता दिदै आएको छ । सुरुमा वुहानस्थित हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिए पनि त्यो अहिले नियन्त्रणमा छ ।
चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ। उक्त अध्ययनले समग्रमा कोभिड १९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ।मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ सङ्क्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ।अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन्।चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई लागेको रोगको संक्रमण निको भएको छ।
सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित छ, जसमा चीनभर फेव्रुअरी ११ सम्म पुष्टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड १९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ।उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावट कम हुदै गएको देखाएको छ ।
अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ। उक्त अध्ययनका केही निष्कर्ष अनुसार, झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ।९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ।त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ।लैङ्गिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ।
बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ।उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएको र त्यसमध्ये फेब्रुअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ।
उक्त अध्ययनले कोभिड १९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेबरुअरीसम्म घटेको उल्लेख गरेको छ।उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्क विच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ।
चीनले उक्त सङ्क्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्क विच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले “निकै छिटो“ हुने बताएको छ।“यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,“ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।
यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो।चिनियाँ अधिकारीहरूले गत साता हरेक दिन थप सङ्क्रमितहरूको सङ्ख्या करिब ४ हजारसम्म पुगेको जनाएका थिए।चीनभन्दा बाहिर भेटिएका ४४१ सङ्क्रमणका घटनामध्ये आठवटा बाहेक सबै सङ्क्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठन सक्षम भएको त्यहाँभित्र स्वास्थ्य सङ्कटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए।भाइरस पहिलोपटक देखापरेको हुबे प्रान्तबाहिर सङ्क्रमणको गतिमा कमी आएको र नयाँ सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएकोले यो आश्वस्त पार्ने विषय भएको उनले बताए।
“चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यो भएको हो,“ उनले भने। तर उनले थपे, “मलाई लाग्छ अहिले नै यो सङ्क्रमणको सुरु र अन्त्य अनुमान गर्नु निकै छिटो हुनेछ।“विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन्।“मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ,“ उनले भनिन्।“यसका लागि केही समय लाग्छ। रातारात खोप बनाउन सकिँदैन।“विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोसले एउटा अमेरिकी क्रुज वेस्टरड्यामलाई आउन अनुमति दिएकोमा क्याम्बोडियाको प्रशंसा गरेका छन्।यो “हामीले निरन्तर रूपमा भनिरहेको अन्तर्रा्ष्ट्रिय ऐक्यवद्धताको उदाहरण हो“ उनले भने।