इराकबाट अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी



इराकी संसद्‌ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका छन्।

“हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बौँ डलर लाग्यो। हामीलाई त्यो रकम नतिरेसम्म हामी [इराक] छोड्दैनौँ,” उनले संवाददाताहरूसँग भने।

अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरानले आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेको छ।

बयसट्ठी वर्षीय सुलेमानीको नेतृत्वमा मध्यपूर्वमा इरानी सैन्य गतिविधि सञ्चालित थियो। तर अमेरिकाले उनलाई आतङ्ककारी मानेको थियो।

उनको पार्थिव शरीर इराकबाट स्वदेश लगिएको छ। सोमवार बिहान हजारौँ मानिसहरू तेहरानमा उनको शवयात्रामा सहभागी भए।

सुलेमानी इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल ‘कूड्स फोर्स’का प्रमुख थिए। उनका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट निकाल्ने वाचा गरेका छन्।

“हामी शहीद सुलेमानीको बाटोमा उत्तिकै बलसहित हिँड्ने वाचा गर्छौँ… र हाम्रा लागि अमेरिकालाई यो क्षेत्रबाट हटाउनु मात्र क्षतिपूर्ति हो,” इस्माइल कानीलाई उद्धृत गर्दै इरानी सरकारी रेडिओले भनेको छ।

गएको शुक्रवार बग्दाद विमानस्थलमा गरिएको हवाई आक्रमणमा सुलेमानीसहित इरानको समर्थनप्राप्त इराकी लडाकु समूह कताइब हेज्बूलाका नेता अबु महदी अल‍-मोहन्दिसको पनि मृत्यु भएको थियो।

राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए।

“…हामी उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौँ। त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ,” उनले भने।

लडाकु समूह इस्लामिक स्टेटविरुद्ध युद्ध हुँदा बनेको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत अहिले इराकमा झन्डै ५,००० अमेरिकी सैनिक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न