चीनद्वारा हङ्‍कङ मामिला हेर्ने दूत पदमुक्त



चीनले हङ्‌कङसँगको आफ्नो सम्बन्ध हेर्ने प्रमुख अधिकारीलाई पदमुक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। वाङ जमिन हङ्‌कङका लागि बेङजिङको सम्पर्क कार्यालयका निर्देशक थिए।

सिन्ह्वा समाचार संस्थाका अनुसार वाङको स्थानमा उत्तरी प्रान्त शान्शीमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिव रहेका लू हुइनिङलाई नियुक्त गरिएको छ।

छ महिनादेखि प्रजातन्त्रपक्षधरहरूले हङ्‌कङमा आन्दोलन चर्काएपछि चीनले उनलाई पदबाट हटाएको हो। हङ्‌कङमा जारी आन्दोलनप्रति चीनले आपत्ति जनाउँदै आएको छ।

चीनको समर्थनप्राप्त हङ्‍कङकी प्रमुख प्रशासक क्यारी लाम भने पदमै छिन्। हङ्‌कङका नागरिकलाई चीनसमक्ष सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोधमा हङ्‌कङमा प्रदर्शन सुरु भएको थियो।

उक्त कानुन बनेमा चीनले विरोधीहरूलाई दमन गर्न त्यसको दुरुपयोग गर्ने आशङ्का व्यक्त गरिएको थियो। नयाँ वर्षको दिन पनि हजारौँ मानिसहरूले हङ्‌कङमा प्रदर्शन गरेका थिए। केही स्थानमा हिंसा भए पनि उक्त दिनको विरोधप्रदर्शन शान्तिपूर्ण नै थियो।

नयाँ वर्षको पूर्वसन्ध्यामा ४० सांसद र १८ देशका विशिष्ट व्यक्तिले क्यारीलाई एउटा खुला पत्र लेख्दै हङ्‌कङवासीका समस्या सम्बोधन गर्दै सङ्कट समाधान गर्न उपयुक्त बाटो खोज्न आह्वान गरेका थिए।

सरकारले हङ्‌कङका नागरिकलाई मुख्यभूमि चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको नयाँ कानुन ल्याउन खोजेपछि हङ्‌कङ छ महिनादेखि आन्दोलित छ।

उक्त प्रस्तावित कानुन अनुमोदन भएमा हङ‍्‌कङको न्यायिक स्वतन्त्रता समाप्त हुने र विरोधीहरू खतरामा पर्ने डर धेरैमा उत्पन्न भयो। चर्को विरोध भएपछि सेप्टेम्बरमा उक्त विधेयक फिर्ता भयो। तर आन्दोलन झन् चर्कियो।

सन् १९९७ सम्म हङ्‍कङ ब्रिटिश उपनिवेश थियो। अहिले ‘एक राष्ट्र, दुई प्रणाली’ नीतिअन्तर्गत हङ्‌कङ चीनको अर्धस्वायत्त भूभागको रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका