भारतको नागरिकता कानुनको विरोधमा दिल्लीमा पनि प्रदर्शन



भारतको राजधानी दिल्लीमा सयौँ विद्यार्थी र अभियानकर्मीहरूले प्रहरीले एउटा विश्वविद्यालयभित्र जबरजस्ती छिरेर धरपकड गरेको भन्दै रातभरि प्रदर्शन गरेका छन्।

तीन छिमेकी देशबाट अवैध रूपमा आएका मुस्लिमबाहेक अन्य धार्मिक समुदायका आप्रवासीलाई आममाफी दिने विवादास्पद नागरिकता कानुनविरुद्ध आइतवार भएको विरोधप्रदर्शनको क्रममा प्रहरीले कारबाही गरेको थियो।

प्रदर्शनकारीहरूले ढुङ्गाले हानेको तथा गाडीमा आगो ‍लगाइदिएकाले बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ। तर प्रहरीले कारबाही गरेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका विद्यार्थी एवं शिक्षक सङ्गठनले आफूहरूले हिंसात्मक प्रदर्शन नगरेको दाबी गरेका छन्। त्यहाँ प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज गरिएको थियो।

बीबीसी संवाददाता सलमान रविका अनुसार विश्वविद्यालयका पदाधिकारीहरूले एक वक्तव्य जारी गर्दै अनुमतिविना नै प्रहरी क्याम्पसभित्र पसेको बताएका छन्।

राजधानीका विभिन्न भागमा प्रहरी कारबाहीको विरोध गर्न थप प्रदर्शनकारीहरू भेला भइरहेका छन्। दिल्लीका विद्यार्थीसँग ऐक्यबद्धता जनाउन भारतका अन्य विश्वविद्यालयमा पनि विरोध कार्यक्रम आयोजना गरिएको छ।

अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानबाट आएका मानिसलाई आकर्षित गर्ने नागरिकता विधेयक गत साता भारतका दुवै संसद्‌बाट पारित भएको थियो। त्यसलगत्तै पूर्वोत्तर भारतमा जारी प्रदर्शनमा एक साताभित्रै छ जनाको मृत्यु भइसकेको छ।

यस सप्ताहान्त प्रदर्शनकारीहरूले पश्चिम बङ्गालका मुख्य राजमार्गहरूमा पनि अवरोध पुर्‍याएका थिए। आसाममा अत्यावश्यक दैनिक उपभोग्य सामान किन्नका लागि राज्य सरकारले छोटो समयका लागि कर्फ्यू हटाएको छ।

ब्रिटेन, अमेरिका र क्यानडाले आफ्ना नागरिकहरूलाई पूर्वोत्तर भारतमा यात्रा गर्दा सतर्क रहन भन्दै विज्ञप्ति जारी गरेका छन्। आलोचकहरूले उक्त कानुन सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को मुस्लिम समुदायलाई सीमान्तीकृत बनाउने योजनाको एउटा अंश भएको आरोप लगाएका छन्।

विपक्षीहरूका भनाइमा धार्मिक आधारमा त्यस्तो विभेद हुनुले भारतको संविधानमा उल्लिखित धर्मनिरपेक्षताको सिद्धान्त उल्लङ्घन भएको छ।

नागरिकतासम्बन्धी भारतमा नयाँ कानुनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।

संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।

यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाबाट भारतीय भिसा बन्द भएको दूतावासको घोषणा

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको

सिरियाली राष्ट्रपति चीन भ्रमणमा

सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका

अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग

अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर

बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम घोषणा,

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास