बलात्कारीलाई सार्वजनिकस्थलमा ल्याएर मार्न पाउनुपर्ने भारतीय सांसदको माग



भारतकी एक सांसदले हैदराबादमा २७ वर्षीया महिला पशुचिकित्सकलाई बलात्कार र हत्या गर्ने पुरुषहरूलाई ‘भिडले मारिदिनुपर्छ’ भनेकी छन्।

“मलाई थाहा छ यो क्रूर हो, तर यस्ता मानिसलाई सार्वजनिक स्थानमा ल्याएर मारिनुपर्छ,” जया बच्चनले संसद्‌मा बोल्दै भनिन्।

विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले पनि उक्त क्रूर सामूहिक बलात्कार र हत्याको निन्दा गरे। हराइरहेकी पीडित महिलाको जलेको शरीर गत साता फेला परेपछि भारतभरि विरोध प्रदर्शन भएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा चार पुरुषलाई पक्राउ गरिएको छ। महिलाविरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिक रूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसा निकै उच्च छ।

सोमवार सडकको आक्रोश संसद्‌मा पनि प्रतिविम्बित भयो। कैयौँ सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरे।

बलिवुडकी पूर्वनायिका जया बच्चन महिला अधिकारका विषयमा प्रखर वक्ता मानिन्छिन्। उनले सांसदहरूको तर्फबाट ती प्रश्न र कडा कारबाहीको मागको नेतृत्व गरेकी थिइन्।

“मलाई लाग्छ समय आएको छ …. जनता चाहन्छन् कि सरकारले उचित र दृढ उत्तर देओस्,” उनले भनिन्। दक्षिणी राज्य तमिलनाडुकी एक सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै भनिन्, “ती चार पुरुष जसले यो अपराध गरे तिनलाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्छ। ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो।”

रक्षामन्त्री राजनाथ सिंहले भने, “यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको छ। सबैको मन दुखेको छ।” उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको समेत बताए।

सन् २०१२ मा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र हत्याको घटनापश्चात् ल्याइएका कडा कानुनले महिलाविरुद्धका अपराध कम गराउने अपेक्षा गरिएको उनले बताए।

तर त्यसो नभएकाले सिंहले भने, “सरकार महिलाविरुद्धका अपराधको मुद्दामा संसद्‌मा छलफल गर्न तयार छ। साथै त्यस्ता घटना रोक्न कडा कानुनको सम्भावना विचार गर्न पनि तयार छ।”

गत साता बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्।

पछि उनले आफ्नो स्कूटर पन्चट भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त

ढाका । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको

पहिलो आइभिएफ कङ्गारु भ्रुण उत्पादन गरेको अस्ट्रेलियाको दाबी

  सिड्नी । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको