अमेरिकामा कार्यालयमा निदाउने विषय अस्वीकार्य



अमेरिकी सरकारले कार्यालयमा निदाउने विषय अस्वीकार्य रहेको बताएको छ। तर विज्ञहरूले यसबारे पुनर्विचार गर्न आग्रह गरिरहेका छन्।

अमेरिकी सरकारले कार्यलयमा निदाउनेहरू विरूद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ।

सङ्घीय कर्मचारीहरूको कार्यालयमा सुत्ने प्रवृतिलाई लिएर लामो समयदेखि चिन्ताहरू व्यक्त हुने गरेपनि विगतमा कहिल्यै पनि यसमाथि प्रतिबन्ध लगाइएको थिएन।

यसै महिनाको सुरूमा जारी गरिएको एउटा निर्देशिकामा भनिएको छ, “सबै कर्मचारीहरूलाई सम्बन्धित निकायका अधिकारीको अनुमति प्राप्त भएको अवस्थामा बाहेक सङ्घीय भवनहरूमा निदाउन प्रतिबन्ध लगाइएको छ।”

अहिलेसम्म यस्तो निर्देशन जारी गर्नुको कारण खुलेको छैन। अधिकारीहरूले यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेका छन्। तर अधिकारीहरूले निदाएका कर्मचारीहरूमाथि कारबाही गर्ने नीति लिएको यो पहिलो घटना भने होइन।

सन् २०१८ मा क्यालिफोर्निया राज्यको अडिटरको कार्यालयले एउटा प्रतिवेदन निकालेको थियो जसमा सवारी साधनसँग सम्बन्धित विभागका एक जना कर्मचारी दिनको तीन घण्टासम्म सुत्ने गरेको पाइएको थियो।

उक्त प्रतिवेदनले ती कर्मचारी निदाएका कारण वार्षिक रूपमा झण्डै ४० हजार डलर बराबरको क्षति पुगेको उल्लेख गरेको थियो।

त्यसमा ती निदाउने कर्मचारीका कारण उनकी सहकर्मीले उनको साटो काम गर्नुपरेको र सुस्तता परिपूर्ति गरिदिनुपरेको उल्लेख गरेको छ।

त्यसरी निदाउने कर्मचारीलाई कुनै किसिमको नसिहत दिइएको भने थिएन। उनका सुपरिवेक्षकहरूले ती कर्मचारीमा कुनै किसिमको स्वास्थ्य समस्या रहेकाले उनी त्यसरी निदाउने गरेकोमा चिन्तित थिए।

निदाउने कर्मचारीहरूका कारण आम रूपमा कार्यलयमा निम्तने कार्यक्षमताको ह्रासका बारेमा धेरैले चिन्ताहरू व्यक्त गर्ने गरेपनि कैयौँले त्यसरी छोटो समय निदाउँदा त्यसले उत्पादन क्षमता घटाउने नभइ बढाउने विज्ञहरू तर्क गर्छन्।

अमेरिकन एकाडेमी अफ स्लीप मेडिसिनका पूर्व अध्यक्ष डाक्टर लरेन्स इपस्टाइन भन्छन झण्डै ७ करोड अमेरिकीहरूमा निद्रा सम्बन्धी समस्या रहेको छ।

इन्डियानामा अवस्थित बल स्टेट युनिभर्सिटिले हालै गरेको अध्ययनले डेढ लाख मानिसहरूको सुत्ने अवधिबारे अध्ययन गरेको थियो।

त्यसमा प्रत्येक रात सात घण्टा वा त्यस भन्दा कम सुत्ने व्यक्तिहरूको सङ्ख्या सन् २०१८ मा बढेर ३५ दशमलब ६ प्रतिशत पुगेको थियो। उक्त सङ्ख्या सन् २०१० मा ३० दशमलब ९ प्रतिशत थियो। आफूले पर्याप्त सुत्न नपाउने गरेको भन्ने गुनासो गर्ने मध्ये आधा प्रहरी अधिकारी र स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत मानिसहरू थिए।

“कतिपय कम्पनीहरू यस विषयमा अझ बढी सचेत भइरहेका छन् र यसलाई कसरी सम्बोधन गर्ने भन्ने उपायहरू निकालिरहेका छन्। तर दुर्भाग्यवश हाम्रा सरकारी निकायहरूले यसमा अग्रणी भूमीका खेलिरहेका छन् जस्तो मलाई लाग्दैन्,” इपस्टाइन भन्छन्।

पर्याप्त रूपमा नसुत्दा कैयौँ स्वास्थ्य समस्याहरू जस्तै मोटोपन, मधुमेह, मुटु सम्बन्धी रोगहरु अनि पक्षघात र त्यसबाहेक चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू देखा पर्ने बताइन्छ।

सन् २०१६ मा र्‍याण्ड कोअपरेसनले गरेको एउटा अध्ययनले निद्रा नपुगेका कामदारका कारण अमेरिकी अर्थतन्त्रमा प्रत्येक वर्ष ४११ अर्ब डलर बराबरको असर पर्ने र त्यसबाट काम गर्ने क्षमतामा पनि ह्रास आउने गरेको देखाएको थियो। इपस्टाइन जस्ता विज्ञहरूले कर्मचारीहरूलाई कार्यस्थलमा छोटो अवधिका लागि सुत्न दिइनुपर्ने तर्क गर्छन्।

“निद्रा नपुगेका व्यक्तिहरूले काम गर्दा आफ्नो उत्कृष्ट काम दिन सक्दैनन् र उनीहरूका कारण कार्यस्थलमा दुर्घटनाको जोखिम पनि हुन्छ। उनीहरूमा बढी स्वास्थ्य समस्याहरू हुने भएकाले त्यसले कम्पनीहरूलाई पनि नोक्सान गराउँछ।”

अमेरिकामा कडा व्यवस्था भएपनि अरू देशहरूमा कार्यस्थलमा सुत्ने विषयमा कठोर व्यवस्थाहरू छैनन्।

जापानमा लामो अवधि काममा खटिने कर्मचारीहरूले आराम महसुस गरून भनेर कम्पनीहरूले बाहिरको आवाज नआउने खालका आरामदायी कक्षहरू स्थापना गरिरहेका छन्।

बेन एण्ड जेरी नामक आइसक्रिम कम्पनीले पनि छोटो समयका लागि निदाउन मिल्ने त्यस्ता कक्षहरू स्थापना गरेको छ। डा भिन्ची रूम भनिने ती आराम कक्ष विलासी नभएपनि त्यहाँ एउटा सोफा र पातलो कम्बल पनि हुने बताइएको छ। कर्मचारीहरूलाई २० मिनेटको समय मात्रै उक्त कक्षमा आराम गर्न दिने व्यवस्था छ र त्यहाँ भन्दा बढी अवधि सुत्नुपरेमा उनीहरूलाई घर पठाउने गरिएको बताइन्छ।

कतिपय उत्तर अमेरिकी कम्पनीमा त आराम गर्ने यस्तो सुविधा उपलब्ध गराउने स्टुडियोहरू नै खुल्न थालेका छन्।

क्यानडाको पहिलो यस खालको स्टुडियो ‘न्याप इट अप’ ले हालै सेवा प्रदान गर्न थालेको छ। यसकी संस्थापक मेहजाबीन रहमानले ब्याङ्कमा लामो समय काम गर्दा आफूलाई स्टुडियो खोल्ने उपाय आएको बताइन्।

टोरन्टोको व्यस्त क्षेत्रमा रहेको उनको स्टुडियोमा जो कोहीले झण्डै साढे सात डलर तिरेर एउटा ओछ्यान २५ मिनेटका लागि भाडामा लिन सक्छन्। त्यस्ता कक्षहरूमा गोपनियता कायम हुने गरी ठूला पर्दाहरू राखिएको र मीठो सुगन्ध आउने खालको व्यवस्था गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा दुई करोड ४१ लाख ७१ हजार मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५८

अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धका लागि पूटिनको आग्रह

रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका

यूरोपेली परिषद्का प्रमुख मिशेलद्वारा आतङ्कवादविरुद्ध ऐक्यवद्धता

पेरिसस्थित हास्यव्यंग्य साप्ताहिक चार्ली हेब्डोको पूर्व कार्यालय बाहिर शुक्रबार भएको आक्रमणप्रति चासो व्यक्त

दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति उत्तर कोरियाली नेताले मागे माफी

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली नागरिक मारिएको घटनाप्रति क्षमायाचना गरेका