इरानमा पेट्रोलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा कम्तीमा दुई जनाको मृत्यु
इरानमा पेट्रोलको मूल्यवृद्धि गरिएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । शुक्रबार पेट्रोलको मूल्य कम्तिमा ५० प्रतिशत बढाइएको थियो । सरकारले विपन्न वर्गलाई सहयोग गर्नका लागि रकम बचाउन चाहेको जनाएको छ ।
इरान अमेरिकी नाकाबन्दीका कारण पहिलादेखि नै समस्यामा रहँदै आएको छ । सन् २०१५ मा अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट आफूलाई पछाडि फर्काएको थियो । साथै इरानमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो ।
सिरजन सहरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी इर्नाका अनुसार प्रदर्शनकारीले एक इन्धन गोदाममा आगो लगाउने प्रयास गर्दा उनीहरुको प्रहरीसँग झडप भएको थियो ।
त्यसक्रममा अर्का एक व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ । विरोध प्रदर्शनबाट राजधानी तेहरान, करमंशाह, इस्फाहान, तबरिज, करादज, शिराज, यज्द, बेशेहर र सरी जस्ता सहर प्रभावित भएका छन् ।