अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा


डाकार। अफ्रिकामा पहिलो पटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’ को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ।

डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’ मा सयौं मानिस भेला भएका थिए। संगीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्‍याली निकाले। उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो।

अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना हुने ओलम्पिकको युवा संस्करण हो। सेनेगलमा आयोजना हुन लागेको यस प्रतियोगिताले अफ्रिकी युवाका लागि नयाँ अवसर र प्रेरणा दिने अपेक्षा गरिएको छ।

‘लिन्गीर’ मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताइन्। “अगाडि बढिरहेको र भविष्यतर्फ हेरिरहेको महादेशलाई विश्वसामु चिनाउन सेनेगल एउटा प्रवेशद्वार मात्र हो”, उनले भनिन्।

सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले समारोहमा ओलम्पिक कल्ड्रन प्रज्वलित गरिन्। अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले यसलाई सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताइन्।

ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योतिले सोमबारदेखि करिब तीन हजार ६०० किलोमिटर यात्रा गर्नेछ। ४०० भन्दा बढी मशाल–बाहकसँगै यसले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्नेछ र उद्घाटन समारोहका लागि डाकार फर्कनेछ।